अमेरिकामा साढे तीन लाख संक्रमित, ९६१८ को मृत्यु

USA Map
लोकपाटी न्यूज

काठमाडौं, २४ चैत्र। कोरोना भाइरस (कोभिड–१९) को सबैभन्दा उच्च जोखिममा पर्ने मुलूकको सूचिमा अमेरिका परेको छ। सोमबार बिहानसम्म अमेरिकामा ३३६८३० जना नागरिक कोरोना भाइरसबाट संक्रमित भएका छन्।

अमेरिकामा मृत्यु हुने नागरिकको संख्या पनि अप्रत्याशित रुपमा बढिरहेको छ। सोमबार बिहानसम्म अमेरिकाले कोरोनाका कारण ९६१८ जना व्यक्ति गुमाएको छ। कोरोनाबाट मृत्यु हुने ३ जना नेपाली नागरिकसमेत रहेको सञ्चार माध्यमहरुले जनाएका छन्। अघिल्लो साता जम्माजम्मी २००० को मृत्यु भएको अमेरिकामा अहिले पनि भयावह स्थिति देखिएको छ।

परिस्थिति यति भयावह बन्दासमेत अमेरिकाले लकडाउनको घोषणा गरेको छैन। लकडाउन नगर्दा संक्रमण ज्यामितीय बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। यता राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले मास्कको प्रयोग नगर्ने र मास्कको प्रयोग आवश्यक नभएको भन्दै आएका छन्।

सोमबार बिहानसम्मको तथ्यांकअनुसार १७९७७ जना व्यक्ति भने कोरोनाको संक्रमणबाट निको भएर घर फर्किएका छन्। संक्रमित जनसंख्याको तुलनामा यो निकै नगन्य संख्या हो। तथ्यांक हेर्दा अमेरिका महामारी रोक्न पूर्णतः असफल भएको देखिएको छ। कतिपयले अर्थतन्त्र चलायमान गराउने महत्वाकांक्षाका कारण ट्रम्पले लकडाउनको घोषणा नगरेर नागरिकको जीवनमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन्।

हालसम्म अमेरिकामा १७ लाख ७२ हजार तीन सय ६९ जनाको कोरोना परीक्षण गरिएको हो। परीक्षण गरिएकामध्ये करीब २० प्रतिशत नागरिकमा कोभिड–१९ को संक्रमण देखिएको हो। संक्रमितमध्ये ८७०२ जनाको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकामा देखिएको संक्रमणले इटालीलाई समेत उछिनेको छ। सुरुका दिनमा इटालीको अवस्था भयावह देखिए पनि अहिले अमेरिकामा स्थिति त्यहाँभन्दा चिन्ताजनक हुँदै गएको छ। यही अवस्था कायम रहेमा कम्तिमा २ लाख नागरिकहरुले ज्यान गुमाउनुपर्ने विज्ञहरुले चेतावनी दिएका छन्।