कोभिड–१९ र सुक्ष्म जैविक हतियारको प्रयोग

Dr. Prem Aale
दोस्रो विश्वयुद्धमा ब्रिटिश र अमेरिकाले जैविक किटाणुहरु उत्पादन गरेर दुश्मनको बिरुद्ध प्रयोग गरेका थिए। यसबाट के पुष्टि हुन्छ भने जैविक किटाणु उत्पादन गर्न (कृतिम किटाणु) सकिन्छ र देशहरुले आफ्नो दुश्मनको बिरुद्ध प्रयोग पनि गरेका छन्। त्यसैले अहिले विश्वशक्ति होडबाजीको क्रममा अघि बढ्दै जाँदा एकले अर्कोलाई कम्जोर बनाउनका लागि नयाँ शुष्मजीवको प्रयोग हुनसक्ने शंका गर्नु अस्वाभाविक होइन। तर अहिले यो शंका मात्र भएको प्रमाणित भएको छ।
लोकपाटी न्यूज

डा. प्रेम आले

अहिले विश्व कोरोना भाइरसको महामारीले संक्रमित छ। यसबाट सायदै अब कुनै देश अछुतो नहोला। आजसम्मको तथ्यांक हेर्दा संक्रमितको संख्या १२ लाख नाघिसकेको छ। अहिले सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन्। आजसम्मको तथ्यांकअनुसार यो संक्रमणबाट ६५ हजारको हाराहारीमा मृत्यु भइसकेको छ र यो संख्या दिनानुदिन बढिरहेको छ। सबैतिरबाट सही तथ्यांक बाहिर आउन नसकेको पनि हुन सक्दछ र यो स्थिति अझ अरु भयावह हुन सक्दछ। अझ विश्वका कति देशहरु यो कोरोना भाइरसलाई भूइँमुनि बिछ्याइएको डाइनामाइटसित तुलना गर्दै आफूहरु त्यसमाथि सुतिराखेको हुन सक्ने र कुनै पनि बेला बिष्फोट भएर बाहिर आउन सक्ने त्रासमा छन्।

कोरोना भाइरसको बिगबिगीले अहिले व्यक्ति, समाज र देशलाई मात्र असर गरेको छैन, अन्तर्राष्ट्रिय समुदाय बीचको अन्तरसंघर्ष, अन्तर्समन्वय र अन्तरसम्बन्धमा समेत असर पारेको अवस्था छ। मानिसको स्वास्थ्य, दैनिकी र व्यवहारमा मात्र होइन, यो महामारीले सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, धार्मिक र वातावरणीय आयामहरुमा पनि असर पारेको छ। यसबारे धेरै कुराहरु बाहिर आएका पनि छन्। तर यसको असरले देशको सुरक्षा तथा अन्तर्राष्ट्रिय सीमादेखि अन्तर्राष्ट्रिय राजनीतिसम्म परेको कुराहरु त्यति बाहिर आएको देखिन्न।

चीनको हुबेई प्रदेशको राजधानी वुहानबाट सन् २०१९ को डिसेम्बर महिनामा शुरु भएको यस कोरोना भाइरसबारे सुरुसुरुमा सामाजिक सञ्जाल र पत्रपत्रिकामा अनेक प्रकारको अड्कलबाजी भएको पढ्न पाइयो। यहाँसम्म कि केही पत्रपत्रिकाले यो भाइरस अमेरिकाले आर्थिक रुपमा चुनौती दिइरहेको चीनलाई तहसनहस पार्नका लागि चीनमा पठाएको भनेर पनि लेखे। केहीले अनुमानकै भरमा चीनले अमेरिकाविरुद्ध आफ्नो प्रयोगशालामा बनाउँदै गर्दा यो भाइरस गल्तीले बाहिर निस्केको हो समेत भने। यस्ता अड्कलबाजी कुनै पक्ष या विपक्षको राजनीतिक रंग बोकेर आएको प्रष्ट थियो। तर अहिले त्यो अवस्था छैन। कोरोना भाइरस र त्यसले ल्याउने रोग कोभिड–१९ का बारेमा अहिले धेरै कुराहरु प्रष्ट भइसकेको छ।

कोरोना भाइरस २००२–०३ ताका दक्षिण चीनमा पहिलो पटक देखिएको सार्स भाइरसको परिवर्तित रुप या अर्को सदस्य भएको कुरा अहिले प्रमाणित भइसकेको छ। अहिले यो भाइरससित लड्न सक्ने भ्याक्सिन बनिनसकेको अवस्था भएकोले विश्वले यो महामारी सामना गर्नुपरेको हो। निकट भविष्यमा यो भाइरससित लड्न सक्ने औषधी तथा भ्याक्सिन तयार भइसकेपछि कोभिड–१९ पनि अन्य इन्फ्युएन्जा भाइरसले ल्याउने रोगजस्तै सामान्य हुने विश्वास गरिन्छ। त्यस अवस्थामा विश्व अहिले जस्तो आतंकित हुने छैन।

विश्व अहिले बन्दप्रायः अर्थात् लकडाउनको अवस्थामा छ। विगतको २ वटा विश्वयुद्धहरु जस्तै विश्व अहिले युद्धमा होमिएको छ। तर यो युद्ध पृथक छ। युद्ध लड्ने हतियार फरक छ। लडाइँको मैदान अस्पताल र स्वास्थ्य शिविरहरु भएका छन्। विश्वयुद्धहरु देशहरु दुई गुटमा विभक्त भई आमन्नेसामन्ने लडेका थिए। यो युद्ध फरक छ, सबै राष्ट्रहरु अलगअलग भएर एक्लाएक्लै कोरोनालाई पराजित गर्न लागि परेका छन्। गरीब देशहरु जसोतसो आफ्नो अस्तित्व जोगाउन लागि परेका छन्, आफ्नो नागरिकको नजरमा कम्तिमा पनि केही राहत दिन हरदम प्रयत्न गरेका छन्। साथसाथै सम्पन्न देशहरुसित सहयोगको अपेक्षा गरिरहेका छन्।

तर शक्तिशाली देशहरुले यसलाई आफ्नो शक्ति तथा कौशलता साबित गर्ने रणनीतिको रुपमा लिएको पाइन्छ। आफू यो युद्ध मैदानमा खरो उत्रन सके आफ्नो स्थान विश्व राजनीतिमा एक खुड्किलो बढ्ने आँकलन गरिरहेका छन्। यो होडबाजीमा विशेषतः चीन र अमेरिका लागि परेका छन् भने युरोपेली देशहरु लगायत एशियाली महाद्वीपको जापान, भारत, रुस र दक्षिण कोरिया पनि होडबाजीमा छैनन् भन्न सकिन्न।

फरक युद्ध, फरक रणनीति

विगत शताब्दीको दुई विश्वयुद्धबाहेक अन्य युद्धहरु जस्तै नक्षत्र युद्ध (स्टार वार), आणविक युद्ध (न्युक्लियर वार) र शीत युद्ध (कोल्ड वार) बारम्बार चर्चामा आउने युद्धहरु हुन्। अहिले विश्वका दुई ठूला अर्थतन्त्र (चीन र अमेरिका), जसको परस्पर सहकार्य या अन्तरसंघर्षले विश्वको विद्यमान अर्थ व्यवस्थालाई नै प्रभावित पार्न सक्दछ, को बीच एकअर्काको उत्पादित बस्तुमा अतिरिक्त भन्सार महशुल थप्ने प्रतिस्पर्धाले आर्थिक क्षेत्रमा ‘व्यापार युद्ध’कै रुप लिएको छ।

त्यस्तै यस युद्धलाई सघाउ पुग्ने गरी भएको अत्याधुनिक विज्ञान र सूचना प्रविधिको होडबाजी (टेक वार) लाई पनि एक किसिमको युद्ध भन्न सकिन्छ। यसरी युद्धहरु फरकफरक परिवेशमा, फरक सामरिक उद्देश्यका लागि, फरक ढंगले लडिन्छ। यस अर्थमा कोरोना बिरुद्धको अहिलेको युद्ध पनि एक युद्ध नै हो। अनि कोरोना भाइरस सबै देशको साझा शत्रु हो, यो यदाकदा प्रचार गरिएजस्तो कोरोना एक देशले अर्को देशका बिरुद्ध प्रयोग गरिएको एक जैविक हतियार होइन्।

शुरुमा कोरोना भाइरसलाई एक कन्स्पेरेसीको रुपमा हेर्ने र त्यहीमुताविक धारणा बनाएर एक देशका बिरुद्ध अर्को देश (चीनले अमेरिका तथा युरोप बिरुद्ध) लागेको भनेर प्रचार प्रसार गरियो। अर्को पक्षले यो भाइरस चीनमा बनाइँदै गर्दा भुलवश नियन्त्रण बाहिर गएको र संसारभर फैलिएको पनि भनेका छन्। अनि अर्को पक्ष अमेरिकाले चीनको बिरुद्ध यो भाइरस जैविक हतियारको रुपमा पठाएर हमला गरेको भनेका छन्। यसरी हेर्दा यो भाइरस महामारीको रुपमा फैलनु, अझ भनुँ कसैले फैल्याउनुलाई जालझेल र कपटको रुपमा देख्न सकिन्छ। दुश्मन देशले समयमै यो जैविक हतियारको नियन्त्रण गर्न नसके उसको अर्थराजनीति र जनमानसको मानसिकतामा नकारात्मक असर पर्ने, विद्यमान शक्ति सन्तुलनमा उलटपलट हुने र त्यसो हुँदा विश्व राजनीतिमा आफ्नो बर्चश्व कायम हुने कन्स्पेरेसी हो कि भन्ने अनुमान पनि गरे, गरेका छन्।

माथि भनिएझैँ कोरोना भाइरस साँच्चै जैविक हतियार थियो त ? अनि यो कन्स्पेरेसीको रुपमा प्रयोग भएकै हो ? के शक्ति राष्ट्रहरुले विश्वमा आफ्नो बर्चश्व कायम गर्न जैविक हतियार प्रयोग गर्लान् ? यस्तो महामारीबाट हुने मानवीय, आर्थिक, सामाजिक र वातावरणीय क्षति कम गर्न शक्ति राष्ट्रहरुको भूमिका कस्तो हुनुपर्दछ ? यस्ता यावत प्रश्नहरुको जवाफ दिन यो लेख केन्द्रित हुनेछ।

जैविक हतियार र यसको सम्भावित प्रयोग

जैविक हतियार शुष्मजीव जस्तो कि ब्याक्टेरिया, भाइरस आदिको प्रयोग गरेर ठूलो संख्यामा मानव वा अन्य प्राणीको संहार गर्न बनाइएको कृतिम हतियार हो। जैविक हतियारको प्रयोग प्राचीन कालदेखि नै भएको थियो। दुश्मनलाई धनुकाँधमा बिष राखेर हान्नेदेखि रोगी खरायोलाई दुश्मनको इलाकामा पठाएर महामारी फैलाउने काम त्यस बेला पनि भएको उल्लेख छ। सत्रौं शताब्दीमा रुसको सेनाले प्लेग रोग स्वीडेनमा फैलाएर महामारी ल्याइदिएको इतिहासमा पढ्न पाइन्छ। त्यस्तै सन् १७६३–६६ मा ब्रिटिश सेनाले उत्तर अमेरिकामा दादुरा, इन्फ्लुएन्जा र बिफर रोगको किटाणु फैलाएको आरोप छ। पहिलो विश्वयुद्धमा जर्मनी र फ्रान्सले एन्थ्राक्स जिवाणुको प्रयोग गरेर एकअर्काको युद्ध घोडाहरुलाई मारेको इतिहास छ।

त्यस्तै, दोस्रो विश्वयुद्धमा ब्रिटिश र अमेरिकाले जैविक किटाणुहरु उत्पादन गरेर दुश्मनको बिरुद्ध प्रयोग गरेका थिए। यसबाट के पुष्टि हुन्छ भने जैविक किटाणु उत्पादन गर्न (कृतिम किटाणु) सकिन्छ र देशहरुले आफ्नो दुश्मनको बिरुद्ध प्रयोग पनि गरेका छन्। त्यसैले अहिले विश्वशक्ति होडबाजीको क्रममा अघि बढ्दै जाँदा एकले अर्कोलाई कम्जोर बनाउनका लागि नयाँ शुष्मजीवको प्रयोग हुनसक्ने शंका गर्नु अस्वाभाविक होइन। तर अहिले यो शंका मात्र भएको प्रमाणित भएको छ।

वैज्ञानिक क्रिस्तियन अन्डर्सनका अनुसार यो कोरोना भाइरस मानव निर्मित किटाणु होइन, यो एउटा प्राकृतिक किटाणु हो। अनुसन्धानपछि उनले ठोकेर भनेका छन् कि यो ‘सार्स–कोभ २ (कोभिड–१९) प्राकृतिक प्रक्रियाबाटै उत्पन्न’ भएको हो। उनी तथा अन्य सुक्ष्मजीव वैज्ञानिकहरुले सप्रमाणसहित यो भाइरस उत्परिवर्तनको प्रक्रियाबाट बंशानुगत परिवर्तन भई बनेको ‘सार्स भाइरसको नयाँ रुप (नोवेल भाइरस)’ हो भनेका छन्। यो तथ्यले कोही बंशाणु इञ्जिनियरले जानीजानी नियतवश कोरोना भाइरसको उत्पादन गरेको भन्ने अनुमानलाई असत्य सावित गरिदिएको छ। नयाँ भाइरस भएकाले यो भाइरसलाई नियन्त्रण गर्न औषधी तथा भ्याक्सिन अहिलेसम्म बनेको छैन, त्यसैले नै यो अहिले महामारीको रुपमा फैलिएको हो।

कन्स्पेरेसी होइन, सहकार्य

युद्धमा कन्स्पेरेसीको रुपमा सुक्ष्मजीव प्रयोग हुने भएकाले शंका हुनु स्वाभाविकै हो। तर अहिले विश्व साँच्चै गरम युद्ध (हट वार) मा छन् त ? यो बुझ्नका लागि शक्तिशाली देशहरुको अतीतको व्यवहार, वर्तमान सामर्थ्य र इच्छा, अनि भविष्यको उद्देश्य बुझ्न जरुरी छ। निम्न तथा मध्यम स्तरको शक्ति राष्ट्रहरु विश्व शक्तिको होडबाजीमा हुन सक्ने कुरै भएन। विश्व स्तरको युद्ध गर्न सामर्थ्य राख्नका लागि आर्थिक, राजनीतिक र सैनिक शक्तिले सुसम्पन्न अहिले दुई महाशक्तिहरु चीन र अमेरिका मात्र छन्। यी राष्ट्रहरु विश्व नेतृत्वका लागि होडबाजीमा भएको कुरा बुझ्न गाह्रो छैन। तर आर्थिक क्रान्तिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको चीन अहिले यसरी जैविक हतियार निर्माण गरेर आफ्नो प्रतिद्वन्दीलाई प्रहार गर्न सक्छ भन्ने कुरा सोच्न पनि सकिन्न। किनकि उसलाई राम्ररी थाहा छ अमेरिकासित टक्कर गरेर उसले आफ्नो आर्थिक विकास गर्न सक्दैन।

बिश्व व्यापारका लागि अमेरिकासित शत्रुता साँधेर होइन, मित्रता कायम गरेर अघि नबढी उसलाई सुखै छैन। त्यस्तै अमेरिकाको अर्थराजनीति पनि चीनसित गाँसिएको छ। चीनको उत्पादन शक्तिमा ह्रास आउनु भनेको अमेरिकी जनतालाई महँगो हालेर दैनिक सरसामान किन्न बाध्य पार्नु हो। त्यसैले चीनसित गहिरिएर गाँजिएको आफ्नो अर्थतन्त्रमा अमेरिका सहयोगी हुन चाहन्छ। त्यसैले यो कोरोना भाइरस मात्र होइन, यी दुई देशका लागि कुनै पनि सुक्ष्म जीव अहिलेको अवस्थामा अर्कोका बिरुद्ध प्रयोग गर्ने सम्भावना छैन।

बरु विश्व नै महामारी भएको अवस्थामा यी देशहरु कोरोना भाइरसको नियन्त्रण आ–आफ्नै तरीकाले गर्न लागि परेका छन्। यस भाइरसलाई समयमै नियन्त्रण गर्न नसक्दा आफ्नो क्षमता र आत्मविश्वासको अवमूल्यन हुने कुरामा यिनीहरु सचेत छन्। भ्याक्सिनको उत्पादन गरेर रोग नियन्त्रण गर्न सके विश्व राजनीतिमा आफ्नो साख अरु बढ्नेछ। यो महामारीले विश्वव्यापी विपतको बेला नेतृत्वको संकट समायोजन गर्न सक्ने क्षमताको परीक्षा लिएको छ।

वासिङ्टनको कमजोरीको फाइदा उठाउँदै रिक्त भएको विश्व नेतृत्वका लागि बेइजिङ्ग तीव्र अघि बढ्दै गरेको हो कि भान दिएको पनि छ। बेइजिङ्गले आफ्नै प्रणालीको प्रचार गर्दैछ। वुहान शहर, जहाँबाट कोरोना भाइरस शुरु भएको थियो, मा करीब दश दिनमा १००० बेडको अस्पताल बनाएर बेइजिङ्गले संसारलाई चकित बनाइदिएको थियो। अहिले यो महामारीसित लड्न चाहिने अत्यावश्यक सामग्री उत्पादन गरी संसारलाई उपलब्ध गराउँदैछ र अन्य देशसित समन्वय गर्ने कामसमेत गरेको छ। बरु यसरी आफ्नो क्षमता प्रदर्शन गर्न यी महाशक्तिका नेताहरु उद्दत छन्।

आफ्नो बर्चश्व स्थापित गर्न खोज्नुभन्दा भविष्यमा हुन सक्ने यस्तो महामारीबाट बच्न महाशक्ति देशहरु लगायत सबै देशहरु एक जुट हुन सके विश्वका जनताले राहत पाउने थिए। अहिले तत्कालै सामूहिक रुपमा भ्याक्सिन बनाउने काममा वासिंङटन र बेइजिङ्ग लगायत अन्य सरकारहरु लागेको भए सफलता छिटो प्राप्त हुने थियो कि ! भूराजनीति, व्यापारिक प्रतिस्पर्धा, परम्परागत शत्रुता एवं शीतयुद्धकालीन मानसिकता त्यागेर मानव जातिका लागि सबै एक हुनुको विकल्प छैन। एउटा शक्ति थाकेको बेला, उसको गल्तीको फाइदा उठाउँदै अघि बढ्ने नीति सबैका लागि प्रत्युपादक छ भनेर सबैले बुझ्नु जरुरी भएको छ। र, यो कोरोना महामारीले कम्तिमा पनि शक्ति राष्ट्रहरुलाई यो पाठ सिकाउने छ भन्ने आशा गर्न सकिन्छ।

(ब्रिटिश गोर्खा रेजिमेन्टका अवकाशप्राप्त मेजर डा. आले अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी विज्ञ हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्