चीनमा कोरोनाका कारण मृत्यु भएकाको सम्झनामा मौनधारण

chianav1
लोकपाटी न्यूज

काठमाडौं। चीनमा करोडौँ मानिसहरूले कोरोना भाइरस कोभिड-१९ का कारण ज्यान गुमाउने व्यक्तिको सम्झनामा तीन मिनेट मौनधारण गरेका छन्। कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरूको सम्झनामा चीनमा देशैभरिका मानिसहरूले रोकिएर आफ्नो शिर झुकाएका छन्।

त्यतिबेला साइरन तथा हर्न पनि बजाइएको थियो। चीनमा गत डिसेम्बर महिनामा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता कोभिड-१९ का कारण अहिलेसम्म ३ हजार ३ सय जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ। देशव्यापी मौनधारण कोरोनाभाइरसविरुद्ध सङ्घर्षका क्रममा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पनि भएको चीनले बताएको छ।

श्वासप्रश्वाससम्बन्धी एउटा नौलो सङ्क्रामक रोग लगाउने कोरोनाभाइरस फैलिरहेको ठहर गरी आफ्ना सहकर्मीहरूलाई सचेत गराउने प्रयास गरेका वुहानमा कार्यरत चिकित्सक लि वेन्लियाङ तथा अन्य स्वास्थ्यकर्मीहरूले पनि कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाए।

ती चिकित्सकलाई चुप लगाउन उच्च अधिकारीहरूले दबाव दिएका विवरणहरू बाहिरिएका थिए। यसैबीच दिवङ्गत मानिसको सम्झना गरिने चिन्मिङ पर्वका अवसरमा धेरै मानिसहरूले मृत्यु भएका आफ्ना आफन्तजनलाई डिजिटल प्रविधिको प्रयोग गर्दै सम्मान अर्पण गरेका विवरण प्राप्त भएका छन्। बीबीसी