काठमाडौं, २१ चैत। एनआईसी एसिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरीब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा खाद्यान्न सामग्री सहयोग गरेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई समस्या परेको भन्दै बैंकले बिहीबार रू. पाँच लाख बराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो।
बिराटनगरस्थित मूख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमूख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश नम्बर एक का मूख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्। प्रदेश नम्बर एक सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने बैंकले विश्वास लिएको छ। बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा रू. पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ।
यस विपतको समयमा बैंकले आफ्ना ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गरेको छ। ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरुले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ।
उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ। ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन्। यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई-कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध रहेका छन्। नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एशिया बैंकका ४ सय ६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था रहेको छ।
यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।
यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। २१ लाख भन्दा बढी ग्राहकरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमूख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।



लोकपाटी न्यूज

