सुरुङ्गा २० चैत। क्वारेन्टाइनमा राखिएको ९ दिन वितिसक्दा पनि एक युवकको स्वास्थ्य परीक्षण हुन सकेको छैन। कोरोना भाइरसबाट सङ्क्रमित भएकी युवतीसंगै नेपाल आएका बाह्रदशी गाउँपालिका–१ खयरवारीका एक युवकलाई क्वारेन्टाइनमा राखेको ९ दिन बितिसक्दा पनि उनको स्वास्थ्य परीक्षण हुन नसकेको हो।
कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसंगै ती युवक पनि नेपाल आएका थिए। उनलाई चैत ११ गतेदेखि बाह्रदशी गाउँपालिका-३ राजगढमा गाउँपालिकाले तयार गरेको एस्तार हस्पिटल एण्ड रिसर्च सेन्टरको क्वारेन्टाइनमा राखिएको छ। उनलाई कोरोना भाइरसको सङ्क्रमण भए नभएको अहिलेसम्म ‘स्वव’ परीक्षण गर्न नसकिएको बाह्रदशी गाउँपालिका-२ का जनप्रतिनिधि प्रेम घिमिरेले बताए।
क्वारेन्टाइनमा उनीसंगै अहिले ४ जना रहेका छन् । चारै जनाको अहिलेसम्म स्वास्थ्य परीक्षण हुन नसकेको बताइएको छ। जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले क्वारेन्टाइनमा राखिएका सबै मानिसको स्वास्थ्य परीक्षण गर्न सम्भव नहुने र जसजसलाई कोरोनाको लक्षण देखा परेको छ, उनीहरुलाई मात्रै आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गर्ने बताए।



लोकपाटी न्यूज