कोरोना कहर : नागरिकले चीनबाट सिक्ने कि इटाली ?

Om Kumari Paudel
अलिक खेलाची जस्तो लाग्यो यो घटना। चीन रोयो त के भयो हामी रुर्नु पर्दैन भन्ने लाग्यो। इटाली शोकाकुल छ त के भो हामी प्रफुल्लित रहिरहुँला जस्तो ठानियो। संसार शोकमा डुबोस् त के भयो हामी गोर्खालीका सन्तान हौं कसैले छुन सक्दैन भन्ने ठानियो। मस्त निन्द्रामा परियो हामी। म निदाए, तपाईं निदाउनुभयो, उहाँ निदाउनुभयो, उ त्यो छिमेकी पनि निदायो अर्थात् हामी सबै निदायौ त्यतिबेला। आफू भलो त जगत भलो भने जसरी सरकार पनि एकतमास सुस्ताइरह्यो झण्डै सुतिरह्यो।
लोकपाटी न्यूज

ओमकुमारी पौडेल

यतिबेला एउटा अत्यन्तै सुक्ष्म अदृश्य जीवाणु कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण आधाभन्दा बढी विश्व झण्डै लकडाउनमा छ। विश्व स्वास्थ्य संगठनले समेत यतिबेला स्वास्थ्य संकटकालको घोषणा गरेको छ। विश्वका करिव आधा जनसंख्या प्रभावित रहेको यस भाइरसको कारण मृत्युु हुनेको संख्या करीव त्रीचालीस हजार पाँच सय नाघिसकेको छ भने लाखौं संक्रमित छन् र पुरै जनजीवन प्रभावित पारेको छ। प्रथमपटक चीनको हुवेइ प्रान्तमा गत दिसम्वर ३१ मा देखा परेको यो भाइरस आज विश्वभरी अनियन्त्रित रुपमा फैलिइरहेको छ।

शुरुमा एक जना माछा व्यापारी महिलामा यो भाइरस देखा परेको चिनियाँहरु बताउँछन्। त्यसो त उनै महिला नै ‘पेसेन्ट जेरो’ रहेको चिनियाँ सरकारको दावी पनि छ। यद्यपि उनी उपचारपछि अहिले पूर्ण स्वस्थ छिन्। यस भाइरसका कारण धेरै राष्ट्र प्रमुख उच्च पदस्त अधिकारीहरु, थुप्रै राजनेता, कलाकार÷अभिनेता, खेलाडी, सामाजिक अभियान्ता, समाजसेवी मात्रै होइन, निरन्तर स्वास्थ्य क्षेत्रमा क्रियाशील ठूला डाक्टरहरु, नर्सहरु र थुप्रै प्रतिष्ठित व्यक्तिहरु समेत मरिरहेका छन्।

प्रारम्भमा करीव करीव निमोनियासँग मिल्दोजुल्दो लक्षण देखा पर्ने यो भाइरसको आजसम्म कसैले पनि औषधी पत्ता लगाउन सकेका छैनन्। बरु भयानक मृत्युुलाई आँखै अगाडि स्वीकार्न बाध्य छन्। हामी देख्न सक्छौं संसारका मानिसहरुले ठूल–ठूला आलिसान बङ्गला बनाएका छन्, उहीँ बङ्गाला जत्रै पैसाको थुप्रो जम्मा गरेका बसेका छन्, संसारभरि प्रसिद्धि पनि कमाएका छन्। तापनि यो भयानक मृत्युदेखि जोगिन सकेका छैनन्। विश्वमा कुनै उपचार नै लागेन। सानोभन्दा सानो गल्तीले मात्रै पनि क्षणभरमै हजारौं मानिस मरिरहेका छन्। लाखौंमा यसको प्रभाव फैलिइरहेको छ। मानिस न आफू बाँच्न सकेको छ, न आफ्ना प्रिय आफन्तलाई बचाउन नै सकेको छ। पुरै संसार अचम्मित छ आखिर के भयो यस्तो ? सारा विश्व स्तब्ध छ पृथ्वी भासिएको जस्तै अनुभूति भएको छ यतिखेर।

काम, क्रोध, लोभ र मोहमा मात्रै अभ्यस्त हाम्रा सारा घमण्ड क्षणभरमै माटोमा मिलेका छन्। आखिर के रहेछ र जीवन ? स्पेनले सारा पैसा सडकमा फालिदियो रे आखिर के गर्‍यो र पैसाले ? जीवन बचाउन नसक्ने यो पैसाको के अर्थ छ र ? इटालिका राष्ट्र प्रमुख सेर्गिओ मट्टरेलाले बलिन्द्र आँसु खसाएर विश्वसामु रुँदै भने, ‘हामी बर्वाद भयौं।’ हिजोसम्म चाइनिज कोरोना नाम राखेर संक्रमित चिनियाँ हेर्दै खित्का छोडेर हास्दै खिसिट्युरी गरिरहेका डोनाल्ड ट्रम्प आज दुनियाँसामु सहयोगको याचना गर्दैछन् र हात फैलाइरहेका छन्। फ्रान्स, जर्मनी, इटाली, स्पेन लगायत सिङ्गै युरोप मात्रै होइन, विश्व नै तहसनहस हुँदैछ। सारा अर्थतन्त्र डामाडोल भइसक्यो। अहो कस्तो दर्दनाक अवस्था हगि एकैछिन कल्पना गरौं त। हामी आँखै अगाडिको मृत्युु कति भयानक हुन्छ होला ?

आज के हुँदैछ विश्वमा यो बिपत्तिबाट कसरी निस्कला संसार या निस्कदाको भोलिपल्ट कस्तो अवस्थामा रहला दुनियाँ। हरे संसारलाई चक्मा दिएर हिडेको यो भाइरस कहाँ कुन स्टेजमा पुगेर रोकिएला ? न रहेगा बाँस नबजेगा बासुरी भने जस्तो भयो भने। एउटा अनुत्तरित प्रश्न संसारका सामु खडा भएको छ के हो यो खासमा ?

नेपालमा प्रथमपटक गत माघ महिनामा एक युवक जो विदेशबाट आएका थिए, उनलाई यसको संक्रमण देखा पर्‍यो। तर उनी सञ्चो भएर घर फर्किए। हामीलाई अलिक खेलाची जस्तो लाग्यो यो घटना। चीन रोयो त के भयो हामी रुर्नु पर्दैन भन्ने लाग्यो। इटाली शोकाकुल छ त के भो हामी प्रफुल्लित रहिरहुँला जस्तो ठानियो। संसार शोकमा डुबोस् त के भयो हामी गोर्खालीका सन्तान हौं कसैले छुन सक्दैन भन्ने ठानियो। मस्त निन्द्रामा परियो हामी। म निदाए, तपाईं निदाउनुभयो, उहाँ निदाउनुभयो, उ त्यो छिमेकी पनि निदायो अर्थात् हामी सबै निदायौ त्यतिबेला। आफू भलो त जगत भलो भने जसरी सरकार पनि एकतमास सुस्ताइरह्यो झण्डै सुतिरह्यो।

दुनियाँको रोदनले हामीलाई पटक्कै छोएन। पूर्वसावधानी अपनाएनौं हामीले। नेपाल भ्रमण वर्ष २०२० का नाममा विदेशीको स्वागतार्थ निस्फिक्री ब्यानर बिछ्याइरह्यौं सडकमा। आउ–आउ नेपाल आउ कोरोना मुक्त हो नेपाल भन्दै बोलाइरह्यौं तारन्तर। देश विदेशमा निम्तो बाँड्दै पो हिडिरह्यौं हामी। संसारलाई हेरेर चेतेनौं हामीले। भाइरस भाइरस नै हो जीवाणुले यो त्यो भन्दैन थियो आखिर सर्ने नै निश्चित थियो। तर हामीले सजकता अपनाएनौं र नेपालमा ५ जनामा पोजेटिभ लक्षण देखा परिसक्यो। अरु हजारौं त्रसित छन्। कति बेला के हुने हो अत्तोपत्तो छैन बस मलिनो अनुहार छ सबैको र त्रसित देखिन्छ दुनियाँ सबै।

यतिखेर हामी लकडाउनको दोस्रो सातामा छौं। निकै ढिलो गरी सरकारले कदम चाल्यो। तथापि रातदिन हामीलाई अपील गरिरहेको छ, ‘कृपया घर बाहिर ननिस्कनु होला। भीडभाड र हुलहुज्जत नगरिदिनुहोला। घरमा पनि निश्चित डिस्टेन्स कायम गरी बसिदिनुहोला। विदेशबाट आउनुभएका तपाईं आफन्तहरु तोकिएको ठाउँमा गएर बसिदिनु होला। खाना नपाएर कोहि मर्नुपर्ने छैन, सरकारले जिम्मा लिन्छ। तपाईंको भोकै हुनुहुन्न तपाईं। कोरोना विरुद्धको यस महायुद्धमा तपाईं घर बसेर राज्यलाई सहयोग पुर्‍याउनु होला।’ देशको सुरक्षा निकायले विनम्रतापूर्वक अपील गरेको छ, ‘तपाईंको सुरक्षाको लागि हामी घरबाहिर छौं। हाम्रो सुरक्षाका लागि तपाईं घरभित्रै बसिदिनुहोला।’

तर हामी अझै पत्याएका छैनौं, अटेरी गरेका छौं, केवल खेलाची ठानिरहेका छौं। संसारमा आज बोइलर कुखुरा मरेसरी मानिस मरिरहेका छन, ट्रकका ट्रक लास फालिएको छ। न आफन्त न काजक्रिया खाल्टोमा पुर्नसमेत जग्गा नपुग्ला जस्तो छ अवस्था। हामी चाहिँ हुलका हुल बाँधेर साझ बिहान बजार घुमिरहेका छौं। ‘शोक न सुर्ता’सँग सिडियो अफिसमा पास लिन लाइन बसेका छौं। ठूलो शहर माछा छोप्नु छ पानीको भेलमा जस्तै गरी कुदेका छौं हामी। सुनको फाली टिप्नु जत्तिकै भ्याइनभ्याइ छ हामीलाई यतिबेला।

सुनिन्छ कास्की लगायत कैयौं जिल्लाहरुमा त लाइन लगाएर गरिबको फारम भराइँदैछ अरे। अहो, यस्तो लाग्दैछ कि हामी मतदानको लाइन लागेका छौं, उमेदवार चुन्नु छ आज हामीलाई। तरकारीको लाइन उस्तै छ। फेरि खास खास बजारहरु हाटबजार जस्तो देखिइरहेका छन्। सेल्फिको रहर उस्तै फेरि मन्डीमा गएर एक मुठा साग समातेर टिकटक बनाउनुछ छ हामीलाई। त्यतिमात्रै होइन, हामी राजनीतिकर्मीहरुको त झन कुरै नगरौं। हुलका हुल बाँधेर एक बोरा चामल बाँड्न र क्यामेरामा आफ्नो अनुहार देखाउन भ्याइनभ्याइ छ हामीलाई। गोरुसिङ्गे अक्षरमा समाचार बनाउनुछ र खानुछ स्वावासीको ताली हामीले यो बेला। भनुन् सबैले फलानाको मन कति ठूलो, कस्तो मानवीय धारणा नेता होस् त फलाना जस्तो आदि इत्यादि।

सामाजिक अगुवाहरुको रहर उस्तै फेरि मौका यही हो एक किलो चिनी भए पनि किन नबाँड्नु फोटो त खिचाउनु नै पर्‍यो नि सबैले। सरकारले हरेक वडामार्फत् व्यवस्थित तवरले राहत वितरण गर्दैछ। टोल टोलबाट तथ्यांक संकलन गरिरहेको छ। तपाई हामी जहाँ छौं, त्यहीबाट भीडभाड नहुने गरी सहयोग पुर्‍याउने हो। यो एकादशी मेला हुँदै होइन, अनावश्यक तमसा नदेखाउँ। देशको मानव अधिकारको झन के कुरा गर्नु, सरकारले मानिसलाई घरमा थुन्यो बाहिर निस्कन दिएन, सीमानामा निस्फिक्री हिड्न दिएन, हजारका हजार हुल बाँधेर देशमा छिर्न दिएन भन्दै हुनुहुन्छ रे। राज्यले उहाँहरुलाई सीमानामै सुरक्षित क्वारेन्टाइनमा राख्नका लागि पहल गर्दै गरेको कुरा देख्नुभएन उहाँहरुले। केवल एकोहोरो यो सरकार अधिनायकवादी भयो रे, मानिसका स्वतन्त्रता हनन गर्‍यो रे, आदि इत्यादि।

कुरा यति मात्रै कहाँ हो र निजि अस्पतालका सञ्चालकहरु अजङ्गको आलिसान बङ्गलामा भोटे ताल्चा झुण्ड्याएर रमिता हेरेर बसिरहेका छन्। जनताको स्वास्थ्य स्थितिसँग सम्बन्ध छैन, उनीहरुलाई केवल खल्ती जाँचेर कुम्ल्याउनु छ पैसा। यो महामारीका बेला अहिले किन खोल्नुपर्‍यो। हस्पिटल दुई चार पुस्तालाई पुग्ने गरी पैसा असुलिएकै छ बसेरै खाइन्छ मज्जाले। स्वास्थ्यकर्मीहरु भन्छन्, ‘सामान छैन, काम गर्न सकिँदैन निहुँ खोज्ने बाटो। व्यापारीहरु रातारात तेब्बर मूल्यमा लुकीलुकी समान बेच्ने गरेका छन्। यी काला बजारियालाई लाग्दो हो कोरोनामा पनि म मात्रै बाँच्दछु र कमाउछु टन्न। भूकम्पका बेला जस्तै शहरमा अर्को घर बसाल्नुछ योपटक मैले। सिटामोल व्यापारीलाई नि यस्तै लाग्या छ एउटा घडेरी त थप्नैपर्ने छ।

बस लुट्नकै लागि पाएका हौं जीवन तिमीहरुले सकेजति लुट कमाउ। भोलि इटालीमा जस्तै सडकभरि छर्न काम लाग्ला तिम्रो धन पैसा। के भएको हाम्रो मुलुकमा यस्तो ? सीमानामा जुलुस चलेको छ रे। जिन्दावाद र मूर्दावादको नारा लगाइँदै छ रे। हुल हुज्जत जुलुसको बाढी सरकारै बगाउला जस्तोगरि उर्लेको छ रे। अरे वा हामी नेपाली हाम्रो नेपाल।

साँच्चिकै एकपटक सोचौं त यस्तै सोच भएका भए चिनियाँहरुले कसरी प्रतिरोध गरे होलान् त्यस्तो महामारीको ? इटालीमा कसरी सामना गरिरहेका छन् त मानिसहरुले ? व्यापार बिजनेस घोडा गाडी त्यहाँ पनि त होलान्। फ्रान्स, स्पेन, इटाली, जर्मनी ठूला ठूला विकसित देश मात्रै होइन, गरिबीको चपेटामा रहेका मुलुकले पनि त एक मन एक चित्त भएर यो महाविपत्तिको सामना गरी नै रहेका छन्। त्यसैले यो बेला अनेक बहानामा बासुरी बजाउने होइन, एकले अर्काको कुरा काटेर होइन, सबै एकजुट भई हातमा हात काँधमा काँध मिलाएर बिपत्तिको सामना गरौं।

विपत्तिको यस घडीमा सरकारले विनम्रतापूर्वक गरेको आग्रहलाई सहज स्वीकार गरौं। स्वास्थ्यकर्मीहरुको निर्देशनको अनिवार्य पालना गरौं, आफू पनि बचौ र अरुलाई पनि बचाऔं। यो महामारीबाट देशलाई मुक्त बनाऔं, अनि बाँकी हिसाब किताब गर्दै गरौंला। बाँचियो भने जरुर नाचौंला, आउनुस्, सबै मिलेर दुखको सामना गरौं।

(पौडेल नेकपाका गण्डकी प्रदेश समिति सदस्य हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्