बेइजिङ । कोरोना भाइरस परीक्षण किट र अन्य मेडिल सामग्रीको निर्यातमा चीनले प्रतिबन्ध लगाएको छ। चिनियाँ कोरोना भाइरस तथा अन्य मेडिकल सप्लाई उत्पादक कम्पनीले आन्तरिक बजारमा ती सामग्री बिक्री गर्ने लाइसेन्स नलिएसम्म ती उत्पादनहरु अन्य मुलुकमा निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।
चीनले निर्यात गरेका परीक्षण किट र अन्य मेडिकल सप्लाइका विषयमा युरोप अन्य विभिन्न उत्पादनको गुणस्तर र विश्वसनीयतामाथि प्रश्न उठ्नुका साथै आलोचना भएपछि चीनले यस्तो निर्णय गरेको हो। चीनले जारी गरेको यो नियम कोरोना भाइरस टेस्ट किट, मास्क, पीपीई, भेन्टिलेटर र इन्फ्रारेड थर्मो्मिटर उत्पादन गर्ने सम्पूर्ण कम्पनीहरुलाई लागू हुने मंगबार चिनियाँ वाणीज्य मन्त्रालय, सामान्य प्रशासन र राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
यसअघि चिनियाँ कम्पनीहरुले आफ्नो उत्पादन निर्यात गर्नका लागि सीई प्रमाणीकरण भए पुग्थ्यो। तर, अहिले आन्तरिक बजारमा बिक्री गर्न लाइसेन्स लिएको हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरी ती कम्पनीहरुले सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेको हुनुपर्ने र चिनियाँ भन्सार नियोगले प्रमाणीकरण गरेको हुनुपर्नेसमेत विज्ञप्तिमार्फत उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो नियम हरेक कम्पनीका लागि लागु हुनेछ। कसैले यो नियम उल्लंघन गर्न खोजेमा कडा कारबाही गरिनेछ।‘
विश्वभर कोरोना भाइरसको महामारी बढ्दै जाँदा कोरोना परीक्षण किट र अन्य मेडिकल सप्लाइको माग बढेको छ। यसको पूर्ती गर्नका लागि विभिन्न चिनियाँ कम्पनीहरुले आफ्ना उत्पादन निर्यात गरेका थिए। तर, उक्त निर्यात गरिएका उत्पादनहरु नक्कली र गुणस्तरहीन भएको भन्दै आलोचना हुनुका साथै विभिन्न मुलुकले फिर्ता पठाउने तयारी गरेका छन् । सुरुमा नेदरल्यान्डमा पठाइएका कोरोना भाइरसविरुद्ध लड्न आवश्यक उपकरणहरु नक्कली भएको भन्दै आलोचना गरेको थियो।
नेदरल्यान्डले यसको अनुसन्धान गरिरहेको छ।नेपालमा पनि चीनबाट निर्यात गरिएका सामानहरु नक्कली भएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ। गत साता सार्वजनिक भएको तथ्यांक अनुसार सीई प्रमाणपत्र भएका १०२ कम्पनीमध्ये २१ कम्पनीले मात्रै चीनभित्र बिक्री वितरण गर्न लाइसेन्स लिएका छन्। साउथ चाइन मर्निङ पोस्टको सहयोगमा



लोकपाटी न्यूज

