एकै घरका पाँच जनालाई ज्वरो आएपछि अस्पताल भर्ना

sick
लोकपाटी न्यूज

सल्यान, १७ चैत। सल्यानको वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जना बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको हो। लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो।

भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न शुरु गरेको थियो। उनलाई ज्वरो निको हुनाको साटो घरमा रहेका २७ वर्षीया श्रीमती, ११ र पाँच वर्षीया छोरी तथा आठ वर्षीय छोरालाई समेत ज्वरो आउन थालेपछि राति सल्यान अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको हो।

जिल्ला अस्पताल सल्यानको आइसोलेशन वार्डमा राखेर उपचार गरिएका पाँचै जनाको अवस्था सामान्य रहेको सल्यान अस्पताल सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढाले जानकारी दिए। भर्ना भएकाहरुमा कोरोनाको लक्षण नदेखिए पनि सबैको स्वाब परीक्षणका लागि संकलन गरेर पठाउने तयारी भइरहेको डा. बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्