नवीन पाेखरेल
बेदाग गरी सफेद बनाउने श्वेतन क्रियालाई अङ्ग्रेजीमा Bleach भनिन्छ। सन् १७८५ तिर फ्रान्सेली वैज्ञानिक क्लाउड लुइस बर्थोल्लेटले सफाइ गर्ने यौगिक रुममा सोडियम हाइपोक्लोराइटको झोल प्रयोग गरे, जसलाई ब्लिच भनियो। सुरुमा यसलाई कपास सेतो बनाउन प्रयोग गरियो। त्यसैलाई कपडाको दाग/धब्बा हटाउने वस्तुको रुममा जाभेल कम्पनीले ‘लिक्यूर डि जाभेल’को नामले व्यापार गर्यो। प्रसिद्धि यति भयो कि ब्लिचलाई फ्रान्समा अहिलेसम्म पनि ‘लिक्यूर डि जाभेल’ भनिन्छ।
मेडिकल क्षेत्रमा ‘चाइल्ड बेड फिभर’को संक्रमण रोक्न सन् १८४७मा अस्ट्रियाको भियना अस्पतालको प्रसुति वार्डको भूइँको किटाणु मार्न पहिलो प्रयोग गरियो। तत्पश्चात् यसलाई किटाणुनाशक विषादी र सफाइ दुबैमा प्रयोग गरिँदै आइएको छ। WHO ले यसलाई Dermatologicals समूहअन्तर्गत Antiseptic and Disinfectants को रुपमा वर्गीकरण गर्दै ACTD08AX07 कोड दिएको छ।
पानीबाट सर्ने झाडापखला, हैजा, टाइफाइडका व्याकटेरिया E. coli, Vibrio cholerae र Salmonelaa Typhi निर्मूलीकरणका लागि विशेषत खानेपानी शुद्धीकरण र स्वीमिङ पूलको सफाइमा नियमित प्रयोग गरिँदै आइएको छ। सस्तो मूल्य, सहज उपलब्धता, वृहत सुक्ष्मजीवलाई नस्ट गर्न सक्ने क्षमता र जीवाणुले प्रतीरक्षा विकास गर्न नसकेको आदि कारणले गर्दा व्यापक प्रयोग हुन्छ। त्यसैले Listeria, MARSA, HIV, Influena virus लगायत निर्मूलीकरणमा प्रभावकारी हुन्छ।
सोडियम हाइपोक्लोराइट : NaOCl वा NaClO, फिक्का हरियो पहेंलो रंगको सोडियम, अक्सिजन र क्लोरिनको रासायनिक यौगिक हो। यो अस्थिर र प्रतिक्रियाशील हुने हुँदा चाडैं विघटन भएर उड्छ। पेन्टाहाइड्रेट भई (NaOCl·5H2O) क्रिस्टलको रुपमा चाहिँ स्थिर रहन्छ। पानी मिसाउँदा वा झोल बनाउँदा पुनः अस्थिर भई सोडिएम क्याटआयन (Na+) र हाइपोक्लोराइट एनआयन (OCl− or ClO−) हुँदै क्लोरिन (Cl) विघटन हुन्छ।
क्लोराइन (Cl) आणविक संख्या १७ हुने क्लोरिन पृथ्वीमा पाइने मुख्य २१ तत्वमा पर्ने गैरधातुजन्य हेलोजन हो। यो उच्च प्रतिक्रियाशील अक्सिकारक एजेन्ट हो। यसले सुक्ष्मजीव कोषका तत्वहरुलाई आक्सिकरण गरी आणविक संरचननामा फेरबदल ल्याइदिन्छ।
सन् २००८ मा मिचिगन युनिभर्सिटीले व्याक्टेरियामा गरेको सोधमा प्रोटिनमा उच्च ताप दिँदा जस्तो असर पर्छ, त्यस्तै व्लिचको असर देखियो। अण्डालाई उसिन्दा सुरुमा तापले प्रोटिनको सुक्ष्मआणविक संरचना खण्डित हुन्छ, पुरानो संरचनामा फर्किन सक्दैन, त्यसपछि सम्पूर्ण खण्डहरु केन्द्रित भई विशाल अघुलनशील थुप्रोको रुपमा रहन्छ।
सुक्ष्मजीव कोषमा सोडियम क्लोराइटले ठिक यस्तै प्रक्रियामा प्रोटिन नस्ट गर्छ। हाम्रो शरिरको आत्मरक्षा प्रणालीमा सुरुमै रोग प्रतिरोध गर्न निर्माण हुने Neutrophils मा पनि हाइपोक्लोराइट पाइन्छ।
बाहिरी संरचनामा प्रोटिनले ताज (क्राउन) जस्तो बनाएको हुँदा कोराना नामकरण गरिएको हो। प्रोटिन र फोस्पोलिपिड बहुसतहले घेरेर राखेको राइबोनिउक्लिक एसिड (RNA) को कोरोना भाइरसमा प्रोटिन मलिकिउल नस्ट हुँदा स्वत: भाइरस नस्ट हुन्छ।
हाइपोक्क्लोराइटले लिपिडकोसँग हाइड्रोलाइस गरेर क्लोरोहाइड्रिन यौगिक बनाउँछ। क्लोरिन पोलार हुने हुँदा फोस्पोलिपिड बहुसतह खण्डित हुन्छ। क्लोरोहाइड्रिनको मात्रा बढेपछि फोस्पोलिपिड बहुसतह भंग हुन्छ र भाइरस नस्ट हुन्छ।
प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
- जैविक यौगिकमा यस्को प्रभाव निष्क्रिय हुन्छ, तसर्थ प्रयोग पूर्व जैविक र अजैविक छुट्याउनु पर्दछ।
- उच्च प्रतिक्रियाशील पदार्थ भएकोले भण्डार र प्रयोगमा सावधानी अपनाउनुपर्छ। चिसो र घाम नलाग्ने स्थानमा केटाकेटीबाट सुरक्षित राख्नुपर्छ। साथै सामुदायिक प्रयोग गर्दा शरीरका अंगको प्रत्यक्ष सम्पर्क रोक्न मास्क, पञ्जा, गगल्स र टोपी लगाउनुपर्छ। विशेषत: आँखाको हेरचाह गर्नुपर्छ, आँखामा परे घातक हुन्छ।
- धातु खिइने र रंग उड्ने भएकोले नियन्त्रित मात्रात्मक प्रयोग गर्नुपर्दछ। भूइँ/भित्ताको किटाणुनाशकको रुपमा मात्र प्रयोग गर्नुपर्दछ।
- यसलाई एकल प्रयोग गर्नुपर्दछ। अरु घरायसी सफाइमा प्रयोग हुने साबुनसँग प्रयोग गर्नु हुँदैन। त्यसरी प्रयोग गर्दा अन्य घातक विशाक्त यौगिक बन्न सक्छ।



लोकपाटी न्यूज

