९ सय १३ विदेशी नागरिक घर फर्किए

लोकपाटी न्यूज

काठमाडौं, १६ चैत। सरकारले विभिन्न मुलुकका ९ सय १३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको थियो । यीमध्ये लुक्ला र जोमसोमबाट जहाजमा र पोखराका धेरै पर्यटक जहाज तथा केहीलाई बसबाट काठमाडौँ ल्याइएको बोर्डले जनाएको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले लुक्लालगायत गन्तब्यमा रोकिएका पर्यटकको उद्धार भइसकेको र अन्य सुलभ गन्तब्यमा रहेका पर्यटकको सोही स्थानमा सहज वातावरणमा रहने व्यवस्था मिलाइएको जानकारी दिए ।

यसरी काठमाडौँमा जम्मा भएका ९ सय १३ विदेशी नागरिक घर फर्किएका छन् । ती नागरिकलाई सम्बन्धित मुलुकले कतार एयरवेजको जहाजमार्फत चार्टर्ड उडान गरी गन्तब्यतर्फ लगेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतारको जहाजले शुक्रबार एक उडानबाट ३ सय ४ र शनिबार २ उडानमार्फत ६ सय ९ युरोपेली मुलुकका नागरिक लगेको विमानस्थलले जनाएको छ ।

लुक्लामा रोकिएका पर्यटकको शुक्रबार बुद्ध एयर, यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले उद्धार गरेका थिए भने शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार गरेको थियो । त्यस्तै तारा, समिट र श्री एयरलाइन्सले पर्यटक उद्धार गरेको विमानस्थलले जनाएको छ । फ्रान्स, जर्मनलगायत मुलुकका नागरिक घर फर्किएका हुन् । अब क्रमशः अष्टेलिया र अमेरिकाका नागरिक स्वदेश लैजाने तयारी भइरहेको छ । अष्ट्रेलियाले निगमको वाइडबडी जहाज चार्टर्ड गरिसकेको छ ।

अप्रिल १ तारिख २०२० मा निगमको वाइडबडी अष्ट्रेलिया उड्ने जनाइएको छ । -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्