– प्रवेश दाहाल
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले यो लेख लेख्दासम्म एक्काइस हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने चार लाख साठी हजारभन्दा धेरै मान्छे संक्रमित भएका छन्। चीनको हुवाइ प्रान्तीय राजधानी उहानमा गत डिसेम्बरबाट देखिएको उक्त भाइरस तीव्र गतिमा विश्वभर फैलिने क्रम जारी छ।
यसै शताब्दीमा देखिएका अन्य भाइरल प्रकोप सार्स, स्वाइन फ्लू आदिको तुलनामा कोरोनाको मृत्यु दर कम भएता पनि उच्च संक्रमण दरका कारणले अहिले झण्डै सम्पूर्ण विश्व अस्तव्यस्तताबाट गुज्रिरहेको छ। मुख्यत वृद्ध-वृद्धा तथा बालबालिका एवं अन्य दीर्ग रोगहरुबाट संक्रमित मानिस यसको उच्च जोखिममा रहेका छन्। विश्व स्वास्थ संगठनका अनुसार झण्डै ८५ करोड विद्यार्थीको पढाइ रोकिएको छ। उद्योग, व्यापार, पर्यटन, यातायात लगायत अर्थतन्त्र र सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा नकारात्मक असर परेको छ।
सुरुवातमा चीनको बुहानलाई संक्रमणको केन्द्रबिन्दु बनाएको कोरोनाले अहिले युरोप र अमेरिकालाई संक्रमणको केन्द्र बनाएको छ भने विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण तथा दक्षिणपूर्वी एसिया संक्रमणको नयाँ केन्द्र बन्नसक्ने उच्च जोखिम रहेको छ। यसै सिलसिलामा नेपालमा पनि स्कूल कलेज तथा विश्वविद्यालयका नियमित परीक्षा, पठनपाठनमा चैत मसान्तसम्म र अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु चैत ९ गते देखि २३ गतेसम्म बन्द गरिएका छन्।
यस लेखमार्फत् कोरोना महामारी र यसलाई नियन्त्रण गर्न असफल पूँजीवादको वर्तमान संस्करण नवउदारवादको संकटबारे चर्चा गरिनेछ। सन् १७८९ को फ्रान्सेली राज्य क्रान्तिले संस्थागत गरेको पूँजीवाद अर्थात् उदारवाद आफैंभित्र विधमान उत्पादनको सामाजिक चरित्र र उत्पादनका साधनको व्यक्तिगत स्वामित्वको अन्तर्विरोधका कारण आएको सन् १९३० को आर्थिक मन्दीले गम्भीर संकटमा पर्यो। यस संकटलाई हल गर्न सन् १९३० को दशकमा बेलायती अर्थशास्त्री जोन मेइनार्ड किन्सले अगाडि सारेको सरकारी भूमिका बढाउने र बजारमा मागलाई उत्साहित पार्न कर कम गर्ने नीति अगाडि सारे जसलाई किन्सियन अर्थतन्त्रका नामले चिनिन्छ।
दोस्रो विश्वयुद्धको समाप्तिपश्चात् संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स लगायतका पूँजीवाद मुलुकहरुमा किन्सिय अर्थनीति लागू गरियो। बजारमा सरकारी भूमिका बढाइयो, मागलाई उत्साहित गर्न कर कम गरियो, स्वास्थ्यलाई राज्यको दायित्वमा राखियो, बेरोजगार भत्ताको व्यवस्था गरियो, निम्न आय भएका नागरिकलाई सस्तो बहालमा आवासको व्यवस्था इत्यादि लोककल्याणकारी नीतिहरु लागू गरियो।
तर पूँजीवादभित्र विधमान यसको आधारभूत विशेषता उत्पादनको सामाजिक चरित्र र उत्पादनका साधनको व्यक्तिगत स्वामित्वको अन्तर्विरोधका कारण पुनः अमेरिका, बेलायत लगायतका मुलुकमा आर्थिक संकटका संकेतहरु देखा परे। सन् १९७० को दशकमा ठूला-ठूला आन्दोलनहरु भए र पूँजीवाद संकटग्रस्त भयो। यही संकटको समाधान गर्न पूँजीवादको नयाँ संस्करणको आविष्कार गरियो, जसलाई नवउदारवाद भनिन्छ। नवउदारवादको पहिलो प्रयोग सन् १९७६ मा अर्जेन्टिनामा अमेरिका समर्थित सैनिक तानाशाह मार्टीनेजले गरे, जुन असफल रह्यो।
यस असफलतापश्चात् केही परिमार्जन गरेर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको शासनकालमा अमेरिका र बेलायतमा नवउदारवाद लागू गरियो, जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संघ जस्ता बहुर्राष्ट्रिय संस्थामार्फत् छोटो समयमै विश्वव्यापीकरण गरियो। समकालीन विश्वमा क्युवा, भेनेजुयला लगायतका केही मुलुकमा बाहेक अन्य सबैमा नवउदारवादी नीति लागू गरिएको छ। नवउदारवादको सिधा अर्थआक्रमक पूँजीवाद हो। अर्थतन्त्रमा राज्यको न्यून भूमिका, ठूला उद्योगी कर्पोरेट हाउसलाई भारी कर छुट र विना रोकतोक पूँजीको विश्वव्यापी प्रवाह यसका प्रमूख अवधारणाहरु हुन्। यसले उत्पादन, वितरण र सेवा क्षेत्रबाट क्रमशः हात झिकेर सबैमा बजारलाई एकाधिकार प्रदान गर्दछ।
यही नवउदारवादी मान्यताअनुसार शिक्षा, स्वास्थ, खानेपानी, फोहोर व्यवस्थापन लगायतका जनताका जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रहरुलाई समेत नीजिकरण र व्यापारीकरण गरिएको छ। तत्कालीन सोभियत युनियनको विघटनपश्चात् केही बुर्जुवा विचारले इतिहासको अन्तिम व्यवस्था भनि प्रचार गरेको पूँजीवादको नवउदारवादी संस्करण सन् २००८ सम्म आई नपुग्दै गम्भीर संकटमा फस्यो।
नवउदारवादलाई यस संकटबाट बचाउन कर्पोरेट हाउसहरुमाथिको कर अत्यन्तै न्यून पारियो, सामाजिक सुरक्षाका प्रावधानहरु कटौती गरियो र अन्तर्राष्ट्रिय मुद्रा कोषको शब्दमा नवउदारवादको अन्तिम किस्ता लागू गरियो। तर पूँजीवादको संजीवनी बुटीका रुपमा प्रचार गरिएको नवउदारवादको अन्तिम किस्ताले उल्टै नवउदारवाद झन गम्भीर आर्थिक राजनीतिक एवं सामाजिक संकटमा फस्दै गयो। केही समयदेखि चिली, फ्रान्सलगायत विश्वभरि भएका विभिन्न आन्दोलन र जनताको व्यापक असन्तुष्टिले यसलाई प्रतिविम्बित गरेको थियो।
कोरोना महामारीले समकालीन पूँजीवाद अर्थात् नवउदारवाको अमानवीय, क्रुर चरित्र एवं असफलतालाई थप पुष्टि गरेको छ। अहिले कोरोना संक्रमणको केन्द्रबिन्दु बनेका इटाली, स्पेन, बेलायत, अमेरिका जस्ता पूँजीवादी मुलुकहरुले केही वर्ष अगाडि मात्रै व्यापक जनविरोधका बाबजुद ठूलो मात्रामा स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेर नवउदारवादको अन्तिम किस्ता लागू गरेका थिए। सरकारी र सामुदायिक अस्पतालहरु नीजिकरण गरिएका थिए, चिकित्सक, नर्स लगायतका प्रविधिकहरुको तलव सेवा, सुविधा र पेन्सन कटौती गरिएको थियो। राज्यसँग आपतकालीन सार्वजनिक स्वास्थ्य नीति नै थिएन, जसको फलस्वरूप इटाली, स्पेन लगायतका मुलुकहरुमा ठूलो मात्रा मानवीय क्षति भयो। आफ्नो नाफाको ग्यारेन्टी नहुन्जेल महामारी विरुद्धको लडाइँमा कर्पोरेट हस्पिटल र स्वास्थ्य संस्थानहरुले पर्याप्त कदम उठाउन चाहेनन् र राज्यलाई असहयोग गरे। कोरोना महामारी विरुद्धको लडाइँका क्रममा नै सम्पूर्ण नीजि अस्पतालहरुलाई राष्ट्रियकरण गर्ने इटालीको निर्णयले यसको पुष्टि गर्दछ।
समृद्ध र शक्तिशाली मानिएका साम्राज्यवादी एवं पूँजीवादी मुलुकहरु कोरोना महामारीका कारण गम्भीर संकटमा परिरहेको बेला समाजवादी मुलुकहरुले कोरोना विरुद्धको लडाइँको अगुवाइ गरिरहेका छन्। अमेरिकी साम्राज्यवाद र यसका दलालहरुद्वारा कमजोर, निर्धन मुलुक भनि प्रचार गरिएको क्युवाले कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक इटालीमा चिकित्सकीय सहयोग पठाएको छ। उसकै शब्दमा चिनियाँ विशेषतासहितको समाजवाद लागू गरिरहेको चीनले कोरोना महामारी विरुद्धको लडाइँमा ठूलो सफलता प्राप्त गरेको छ।
कोरोनासँग लड्न इटाली, सर्बिया लगायतका मुलुकहरुमा ठूलो मात्रामा चिकित्सकीय टोली, अत्यावश्यक औषधि र उपकरणहरु सहयोग गरेको छ। ६० वर्षदेखि अमेरिकी साम्राज्यवादले लगाएको कठोर नाकाबन्दीको सामना गरिरहेको समाजवादी मुलुक क्युवा कोरोना महामारी विरुद्धको लडाइँमा अग्रपंक्तिमा आउन सक्ने तर, समृद्ध र महाशक्ति भनिने पूँजीवादी मुलुकहरु अस्तव्यस्त हुनुको पछाडिको कारण पूँजीवादको असफलता र समाजवादको सफलता नै हो।
कोरोना महामारीले हाम्रा अगाडि पूँजीवादको असफलता र समाजवादको सफलताको जुन अकाट्य तथ्य प्रस्तुत गरेको छ, त्यो ज्यादै महत्वपूर्ण छ। यस तथ्यबाट पाठ सिक्दै वैज्ञानिक समाजवादी क्रान्तिका माध्यमबाट पूँजीवादसँग पूर्ण सम्बन्ध विच्छेद गरी वैज्ञानिक समाजवादको मार्ग अगाँल्न ढिला गर्नु हुँदैन, अन्यथा सिङ्गो मानव सभ्यताले ठूलो मूल्य चुकाउनु पर्नेछ।



लोकपाटी न्यूज

