युवतीसँगै कतार एअरवेजबाट आएका १२५ जनाको पहिचान

Qutar airways
लोकपाटी न्यूज

काठमाडौं। नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ।

बीबीसी नेपाली सेवा लेख्छ – चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्। त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए।

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ। ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले बताए।

उनले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिए। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जनाए।

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी सोमबार स्वास्थ्यमन्त्रीले दिएका थिए। उनले भने, ‘कतार एअरवेजको उक्त जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना हामीले पत्ता लगाइसकेका छौँ। बाकी नेपाली यात्रुको ठेगाना पत्ता लगाउने काम भइरहेको छ।’

उनी थप्छन्, ‘घरको ठेगानामा स्थानीय प्रहरी पठाएर उनीहरूको अवस्था के छ त्यो हेर्छौँ र क्वारन्टीनमा बस्ने अनि थप सतर्कता अपनाउन भनिरहेका छौँ।’ उनका अनुसार स्वास्थ्य मन्त्रायसँग समन्वय गरी सबै यात्रुको यथाशीघ्र स्वास्थ्य परीक्षण गरिनेछ।

उनी भन्छन्, ‘उक्त जहाजमा यात्रा गरेका झापाका एक व्यक्तिले आफू सोही जहाजमा आएको र स्वास्थ्य परीक्षण गर्न तयार भएको भनी हामीसँग सम्पर्कमा आएका छन्। यसले मानिसहरु कोरोनाभाइरस सङ्क्रमणसँग जुझ्न तयार भएको देखाउँछ।’

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको हो। नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाडौंमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार एयरवेजको उक्त जहाजमा नेपाल फर्किएका सबै नेपालीलाई सम्पर्क गर्न प्रयास भइरहेको बताए। ‘कोही व्यक्ति स्वेच्छिक रूपमा सम्पर्कमा आएका छन्। उनीहरूलाको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले पूर्वाधार तयार गरेको छ’ देवकोटाले भने।

नेपाल दोस्रो कोरोना भाइरसको सङ्क्रमणको घटना पुष्टि भएपछि सोमवार सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी आवतजावत र हिँडडुलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। मङ्गलबार बिहानबाट लागू भएको उक्त आदेश चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्