रोकिएन नाकाबाट नेपाल छिर्नेको भीड

gaurifanta_jhadap
लोकपाटी न्यूज

धनगढी, ११ चैत। नेपाल सरकारले आइतबारदेखि भारतको सीमा नाका बन्द गरेको भए पनि भारतका विभिन्न शहरबाट कैलाली कञ्चनपुरका नाका हुँदै आउने क्रम जारी रहेको छ।

सोमबार राति ८.०० बजे धनगढीको त्रिनगर नाकामा आएका भण्डै तीन सय नेपालीहरु अहिले जर्वजस्ती नेपाल प्रवेश गरिरहेका छन्। भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरु सोमबारदेखि सीमामा रोकिएका र रातभर दुई देशको सीमा क्षेत्रको सडकमै बसेका थिए।

सरकारको आदेश नआउँदासम्म नेपाल पस्न दिन सकिँदैन भन्दै उनीहरुलाई त्रिनगर प्रहरी चौकीले रोकेर राखेको थियो। नेपाल जान पाउनुपर्‍यो भन्दै होहल्ला गरेर बस्नेमा सा–साना बालबालिकासहितका महिला समेत छन्। सोमबार साँझ पनि धनगढीको त्रिनगरबाट दुई हजार पाँच सय नेपाली नेपाल फर्किएका थिए।

भारतका विभिन्न शहरबाट आएकाहरुको स्वास्थ्य परीक्षणका गरेर सोमबार बिहान र दिउँसो गरेर दुईपटक नेपालीहरुलाई नेपाल आउन दिइएको थियो। यस्तै सोमबार गड्डाचौकी नाकाबाट पनि ८९३ नेपालीहरु घर फर्किएका छन्। कञ्चनपुरैकै व्रहमदेवमण्डीबाट पनि ७५ जना नेपाली भारतबाट नेपाल आएका छन्।

सोमबार लामो समय होहल्लापछि भारतबाट आएका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपाल आउन दिइएको थियो। भारतबाट आएकाहरुले सीमामा रोकिनु परेपछि कि हाम्रो नागरिकता खोस, नत्र नेपाल जान देउ भनेर होहल्ला गर्दे सीमावारी आएका छन्। प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ।

सरकारले मंगलबारदेखि सिंगो नेपाललाई लकडाउन गरेको छ। तर, सीमा नाकाबाट नेपाल आउनेहरुको भीड रोकिएको छैन। नाकाबाट मात्र होइन, चोरबाटोबाट नेपाल छिर्नेहरुको क्रम नरोकिएकाले महामारी बढ्नसक्नेमा स्थानीय चिन्तित भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्