निर्मल पौडेल, पर्वत। जिल्ला अस्पताल पर्वतमा कोरोनाबाट बच्न र बचाउनका लागि ज्वरो क्लिनिक सञ्चालनमा आएको छ। जिल्लाबासीलाई कोरोनाको सम्भावित संक्रमणबाट बचाउन ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको हो।
विश्वभरि महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोनाबाट हुने संक्रमणबाट जोगाउन क्लिनिक सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए। उनले सबैलाई सजग रहन आग्रह गर्दै केही समस्या देखिए तुरुन्त अस्पताल आउन अनुरोध गरेका छन्।
यसैगरी अस्पतालको विशेष पहलमा मंगलबारबाट गुप्तेश्वर बहुमुखी क्याम्पसमा पर्वत अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याउने समेत पहाडीले जानकारी दिए।
पर्वत अस्पतालका १२ जना चिकित्सकसहितको टोली अस्थायी अस्पतालमा खटिने प्रवन्ध मिलाइएको छ। अस्थायी अस्पतालको तयारी र व्यवस्थापनका लागि कुश्मा नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय लगायत दुवै नगरपालिका तथा सबै गाउँपालिको सहयोग रहेको छ।
महामारीको रुपमा संसारलाई नै चुनौती दिने गरी देखिएको यो संकटबाट जोगिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन पर्वत अस्पताल विकास समितिका अध्यक्ष पहाडीले आग्रह गरे।



लोकपाटी न्यूज

