तिलोत्तमा नगरपालिकामा लकडाउन

tilottama
मनहरि तिमिल्सिना

तिलोत्तमा, चैत। तिलोत्तमा नगरपालिका भित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया÷खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायमशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द हुने भएका छन्।

सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोक्न चैत ११ देखि १७ गतेसम्म नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो। अत्यावश्यक सेवामा औषधि, खाद्यन्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, ईन्धन, फोहोरमैला व्यवस्थापनलगायत छन्। सरकारले अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन अनुरोध गरे पनि त्यो प्रभावकारी नभएको अवस्थामा तिलोत्तमाले मानिसको जमघट रोक्न यस प्रकारको निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।

लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर खाने सम्बन्धित वर्गलाई छाक टार्न समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गर्नेछ। ‘टोल विकास संस्थासँगको सहकार्यमा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको यो अवधिमा दैनिक छाक टार्न समस्या परेमा आवश्यक खाद्यन्नको व्यवस्था नगरपालिकाले गर्नेछ।’ उहाँले भने, ’हाम्रो निर्णयबाट कसैको चुल्हो नजल्ने अवस्था नआओस् भन्नेमा हामीहरु सचेत छौं।’

बैठकले दैनिक ज्यालादारी काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग÷धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ। बैठकमा जनप्रतिनिधि, राजनीतिक दल, उद्योग÷व्यवसायी, निर्माण मजदुर सम्बद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतका सहभागी थिए।

नगरपालिकाले एक महिनाको घर बहाल कर छुट दिने निर्णय पनि गरेको छ। यस्तै नगरपालिकामा बुझाउनुपर्ने कर, राजश्व, महशुलमा यो अवधिभर विलम्व शुल्क नलिने निर्णय समेत गरेको प्रवक्ता श्रीले जानकारी दिए। सर्वदलीय, सर्वपक्षीय बैठकले नगरबासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सबैलाई अपील गरेको छ।

बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना संक्रमण रोकथाममा नगरपालिकाले गरेको कार्यहरुको बारेमा जानकारी दिएका थिए। उपप्रमुख जागेश्वरी चौधरीले कोरोना संक्रमणको पूर्वतयारीमा जुट्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्दै यो विषयमा सबै संवेदनशील बन्नुपर्ने बताए।

त्यस अवसरमा नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, नेपाली कांग्रेसका जगत पौडेल, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, निर्माण व्यवसायी प्रतिनिधि नरु छन्तेल, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल लगायतले कोरोना संक्रमण पूर्वतयारीको अवस्थामा बोलेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्