स्याङ्जा, ८ चैत । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोरोना भाइरसको संक्रमणबाट सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गरेकी छिन्। कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उनले विपद् व्यवस्थापन समिती स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण गरेकी हुन्।
स्याङ्जामा शनिबार आयोजित कार्यक्रममा मन्त्री अर्यालले छिमेकी देश चीनबाट सुरु भएको कोभिड १९ विश्वभर पुगेको बताउदै नेपालका हरेक ठाउँमा पुग्न सक्ने भएकाले सचेत रहन आग्रह गरिन्। मन्त्री अर्यालले विपद ब्यवस्थापन समितिलाई २० हजार थान माक्स र एक वटा गन थर्मो्मिटर प्रदान गरेकी हुन्।
मन्त्री अर्यालबाट प्राप्त भएको मास्कलाई प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले ११ स्थानीय तह, प्रहरी, आर्मी, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई वितरण गरेका थिए। भारतमा कोरोना भाइरस संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउदै मन्त्री अर्यालले खुला सीमानाका कारण नेपाल पनि उच्च जोखिममा रहेको बताइन्।
कोभिड १९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने बताउँदै उनले संक्रमणलाई प्रवेश गर्न नदिन सरकारले सर्तकता अपनाएको बताइन्। सरकारले गरेको निर्णयले नीजि जीवनमा केहि समस्या रहेपनि सर्तकता अपनाउन सकेमा भयङ्कर दुर्घटना हुनबाट बच्न सक्ने बताइन्।
जनप्रतिनिधी, राजैतिक दल, सुरक्षाकर्मीले जिल्लामा कोरोना भाइरसको संक्रमणबाट बच्न राम्रो काम गरेको बताउदै मन्त्री अर्यालले थप काम गर्न आग्रह गरिन्। संक्रमण हुँदैमा मृत्यु नहुने भन्दै नडराउन आग्रह गर्दै मन्त्री अर्यालले विदेशबाट आएकामध्ये एक जनामा पनि नेपालमा संक्रमण नदेखिनुले नेपालीहरुको रोगसँग लड्नसक्ने क्षमता बढि रहेको बताइन्।
अशक्त, रोगीहरुलाई रोगले च्याप्ने भएकाले निगरानीमा राख्न आग्रह गर्दै मन्त्री अर्यालले हरेक वार्डमा हेल्थ डेक्स राख्न आग्रह गरिन्। कालिका अस्पताल, आधिखोला अस्पताल, गल्याङ् अस्पताललाई संक्रमितको उपचार केन्द्र बनाउन आग्रह गर्दै मन्त्री अर्यालले जनतामा मनोबल उच्च राख्नेतर्फ काम गर्न दिर्नेशन दिइन्।
उनले कोरोना भाइरसको समस्या बढेमा एरिया लक डाउन गर्नसक्ने समेत बताइन्। कार्यक्रममा गण्डकी प्रदेश सदस्य मिनप्रसाद गुरुङ्, जिल्ला समन्वय समिति सदस्य सीताकुमारी सुन्दास, नेकपाका अध्यक्ष सुर्यप्रसाद गैरे, नेपाली काँग्रेस प्रवक्ता इन्द्र गोदार लगायतले कोरोना भाइरसको संक्रमणलाई रोक्न तयार रहेको बताएका थिए।
बैठकले सरकारको निर्णयलाई जस्ताको जस्तै कार्यान्वय गर्ने निर्णय गरेको छ भने विदेशबाट फर्केका नेपालीलाई १४ दिन गाउँपालिकाको निगरानीमा क्वारेन्टाइन राख्ने निर्णण गरेको छ। साथै होटेल, रिसोर्ट, बार पसलका सञ्चालकले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीका व्यवस्था गर्ने र हात सफा गर्ने सेनिटाइजर राख्नु पर्ने सहितका १३ वटा निर्णय गरेको छ।



लोकपाटी न्यूज

