काठमाडौं। यतिबेला, विश्वभर कोरोना भाइरस (कोभिड-१९) को प्रकोप बढी रहेको छ। कोरोना भाइरसको संक्रमण फैलिएको तीन महिना हुनै लाग्दा पनि नियन्त्रणमा नआएपछि वैज्ञानिकहरु चकित भएका छन्।
भाइरस विश्वभर फैलिरहँदा यसको औषधि समेत बन्न सकेको छैन। परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि एकदेखि दुई महिना लाग्न सक्ने बताइएको छ।
विभिन्न मुलुकका सरकारले औषधि र खोप नै पत्ता नलागेकाले सतर्कता अपनाउँदै मानिसहरुलाई घरभित्रै बस्न आव्हान समेत गरेका छन्। भाइरोलोजिस्ट हेन्ड्रिक स्ट्रिकका अनुसार कोरोनाभाइरसका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुने सम्भावना छ। जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीले यो महामारी २ वर्षसम्म रहन सक्ने चेतावनी समेत दिएको छ।
ज्वरो आउनु, घाँटी खसखस हुनु, सुख्खा खोकी लाग्नु र मांशपेशी दुख्नु कोरोनाभाइरसका मुख्य लक्षण हुन्। तर, अब यसका केही नयाँ लक्षण पनि देखिएका छन् जसले वैज्ञानिकहरुलाई चिन्तित बनाएको छ। रुघाखोकीसँग मिल्दाजुल्दा लक्षणले वैज्ञानिकहरु चिन्तित भएका छन्। संक्रमणपछि कुन स्टेजमा पुग्दा लक्षण देखिन्छ भन्ने स्पष्ट नभइसकेको स्ट्रिकले बताए।



लोकपाटी न्यूज

