काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको हल्ला मात्र भएको अस्पतालका अध्यक्ष बसन्त चौधरीले बताएका छन्। सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको चौधरीले बताएका छन्।
अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको र एक जनाको मृत्यु भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको सूचना हल्ला मात्र रहेको बताउँदै चौधरीले हल्लाको पछि नलाग्न आग्रह गरे। उनले ट्विटमार्फत् नियतबस गराइएको हल्ला भएकाले यस विषयमा साइबर क्राइम ब्यूरोमा जानकारी गराइएको उल्लेख गरेका छन्।
सरकारले कोरोनाको परीक्षण हुने अस्पतालको सूचीमा नर्भिक पर्दैन। भाइरसको परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुन्छ। नेपालमा हालसम्म भएको परिक्षणमा एक जनामा मात्र कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भइसकेका छन्। पछिल्लो समय भएका परीक्षणमा संक्रमण देखिएको छैन।
शनिबार नै नर्भिक अस्पतालले एक विज्ञप्ति जारी गर्दै नर्भिक अस्पतालमा कोरोनाका बिरामीको मृत्यु भएको समाचार सुनेर आफूहरु आश्चर्यचकित भएको बताएको छ। नर्भिक अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी निश्चिन्त र प्रष्ट हुनुपर्छ।’
सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा कोरोनाका बिरामीको मृत्यु भएको सनसनीपूर्ण हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेको हो। अस्पतालको विज्ञप्तिमा अनर्गल प्रचार गर्नेलाई कानूनी दायरामा ल्याउन पनि सरकारसमक्ष माग गरेको छ।
हेर्नुस् विज्ञप्ति।




लोकपाटी न्यूज

