कोरोना नियन्त्रणमा प्रदेश सरकारका १५ निर्णय

Shankar-Pokhrel-1-1
लोकपाटी न्यूज

अस्मिना पाण्डे, बुटबल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाको रोकथामका लागि प्रदेशका संयन्त्रलाई सक्रिय रहन निर्देशन दिएका छन्। शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा सम्म्पन्न बैठकमा कोभिड–१९ को पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका लागि सक्रिय रहन उनले निर्देशन दिएका हुन्।

बैठकले नोभेल कोरोना भाइरस नियन्त्रणका लागि रुपन्देहीमा बुटवल धागो कारखाना, भीम अस्पताल भैरहवा, देवदह क्याम्पस र दाङको बेलझुण्डी आयुर्वेद अस्पताल एवं बाँकेमा नेपाल प्रहरी अस्पताल र क्यान्सर रोग अस्पताललाई अस्थायी कोरोना अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ।

बैठकले सामाजिक विकासमन्त्री सुदर्शन बरालको नेतृत्वमा ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ। टीममा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट, भीम अस्पतालको सुपरिटेण्डेन्ट सदस्य रहेका छन्।

बैठकले आइसोलेशन तथा ट्रिटमेन्ट अस्पताल निमार्णका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टिम रहने, सम्भावित संक्रमितलाई आइसोलेशन अस्पतालमा रेफर गरी पठाएको र सम्बन्धित अस्पतालले बिरामी बुझेको अभिलेख अद्यावधिक गरिराख्ने, कोरोना भाइरसको सूचना सम्प्रेषण तथा सुरक्षाका लागि छुट्टै सूचना प्रणाली बनाउने निर्णय पनि गरेको छ।

प्रदेश सरकारको बैठकले प्रदेशमा रहेका एम्बुलेन्सहरुको जिल्लागत विवरण सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स चलाउनका लागि थप चालक आवश्यक भए सुरक्षा निकायमा रहेका चालकहरुको विवरण तयार गरिराख्ने, सवारी चालकहरुलाई आवश्यक परामर्श गर्ने, सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुको विवरण संकलन गर्न थप जनशक्ति आवश्यक भए सम्बन्धित सुरक्षा निकायबाट व्यवस्था गरी विवरण संकलन गरी बिवरण संकलन गरिराख्ने निर्णय पनि गरेको छ।

प्रदेश सरकारले भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने भारत लगायतका अन्य देशका नागरिकहरुलाई अत्यावश्यक काम बाहेक नेपाल प्रवेशमा रोक लगाउने, भारतबाट नेपाल भित्रिने सवारी साधनलाई मेडिकल ट्रिटमेन्ट गरेर मात्र आउने व्यवस्था गर्ने पनि निर्णय गरेको छ।

त्यस्तै आवश्यक सामग्रीहरुको बजारमा अभाव सिर्जना नहुने गरी बजार प्रणाली सन्तुलित बनाउन सबै जिल्लामा प्रमुख जिल्ला अधिकारहिरुको संयोजकत्वमा बजार अनुगमन समूह बनाई नियमित अनुगमन गर्ने, कोरोना भाइरस सम्बन्धी सही सूचना सम्प्रेषण गर्न रेपिड रेस्पोन्स टीमका एक जना सदस्यलाई सूचना संप्रषणको जिम्मेवारी तोक्ने बैठकले निर्णय गरेको छ।

बैठकले सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेका मेडिकल कलेज र निजी अस्पतालसंगको समन्वय बैठक बोलाई साझा निर्णय गर्ने व्यवस्था गर्ने, कोरोना संक्रमणको नियन्त्रणका लागि साझा आचार संहिता निर्माण गरी लागू गर्ने, सबै कार्यालय, आफ्नो गाउँ घर परिसरमा सरसफाई गर्ने, एकापसमा दुरी कायम गर्ने व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आम नागरिकमा सार्वजनिक सूचना प्रसारण गर्ने निर्णय पनि गरेको छ।

प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीहरुको सूचि सामाजिक विकास मन्त्रालयले तयार गर्ने, आफै खरिद गर्न सम्भव भए खरिद गर्ने नभए बजेट तथा सामग्री माग गर्ने र सहज रुपमा अत्यावश्यक सामान उपलब्ध गराउने निर्णय पनि गरेको छ।

बैठकले कोरोना संक्रमणको कारण कुनै क्षेत्र लकडाउन गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी जिल्लागत योजना प्रमुख जिल्ला अधिकारीले बनाइराख्ने, दुई वा बढी जिल्ला लकडाउन गर्न आवश्यक हुन सक्ने विषयलाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोको योजना तयार गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्