काठमाडौं, ७ चैत। नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न सेवाग्राहीलाई अनुरोध गरेका छन्। बैंक नोटबाट पनि कोरोना भाइरस संक्रमण हुन सक्ने देखिएको भन्दै नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तिय संस्था संघले शुक्रबार संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन्।
बैंक तथा वित्तीय संस्थाहरुले बैंक शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोबारहरुलाई प्रोत्साहन गर्न विभिन्न सुविधाहरु प्रदान गरेका छन्। कोरोना भाइरस रोकथामको लागि सहयोग गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेटर मोबाइल लगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै शुल्क नलाग्ने, कुनै पनि बैंक तथा वित्तिय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने, यसैगरि नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने connect ips सेवामा पनि कुनै शुल्क नलाग्ने जनाएको छ।
यस्तो सेवा सुविधाहरु अर्को कुनै सूचना प्रकाशित नहुन्जेलसम्म उपलब्ध हुने जारी विज्ञप्तिमा जनाइएको छ।इन्टरनेटर मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफनो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा सम्बन्धित शाखामा फोनमार्फत् सम्पर्क गर्न अनुरोध गरेको छ। साथै, अत्यावश्यक अवस्थामा बाहेक शाखाहरुमा नजान,भिडभाड कम गर्न तथा कोरोना संक्रमणबाट जोगिने/जोगाउनका निमित्त सहयोग गर्नका लागि सबै ग्राहकवर्गलाई अपिल गरेको छ।




लोकपाटी न्यूज

