भरतपुरमा कोरोना विशेष अस्पतालको सेवा प्रारम्भ

bharatpur
लोकपाटी न्यूज

चितवन , ७ चैत। कोरोना रोकथाम तथा न्यूनिकरणका लागि भरतपुरमा कोरोना विशेष अस्थाई अस्पताल निर्माण गरिएको छ। शुक्रबारदेखि भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल सेवा प्रारम्भ कार्यक्रमको घोषाण गरिएको छ।

बाग्मती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा शुक्रबार अस्पतालको सेवा प्रारम्भ भएको घोषणा गरिएको हो। चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्थायी अस्पताल तयार गरिएको हो।

अस्पताल भरतपुरस्थित उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा बनाइएको छ। जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको छ। भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पतालको रुपमा परिणत गरिएको हो।

विशेष अस्पतालका लागि आवश्यक पर्ने उपकरण जुटाउन प्रदेश सरकारबाट समेत बजेट माग गरिने र केही उपकरण जिल्लाका अस्पतालबाट सहयोग जुटाइने छ। चितवनमा कोरोनाका शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिनेछ।

चितवन मेडिकल कलेजले अस्पतालमा हेल्थ डेस्क स्थापना गरेको छ। अस्पतालको गेटबाट तापक्रम नापेर अस्पतालको मुख्य भवनमा नलगी पछाडि रहेको ओपीडीमा परीक्षण गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्