भरतमोहन अधिकारी स्मृति फाउण्डेशनद्वारा मास्क र स्यानिटाइजर वितरण

mask bitaran
लोकपाटी न्यूज

काठमाडौं, ७ चैत। भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले राजधानीमा वृद्धाश्रमहरुमा मास्क तथा हात धुने सामग्रीको वितरण सुरु गरेको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उद्देश्यले वृद्धाश्रममा मास्क तथा हात धुने सामग्री वितरण सुरु गरेको हो।

फाउण्डेशनले शुक्रबारबाट त्यस्तो अभियान सुरु गरेको हो। फाउण्डेशनका कार्यसमिति सदस्य लीमा अधिकारीले शान्तिनगरस्थित निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृह र बुढानीलकण्ठ गोल्फुटारमा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका ५० जना वृद्धवृद्धालाई मास्क, स्यानिटाइजर तथा साबुन वितरण गर्नुका साथै हात धुने वैज्ञानिक तरिकाबारे जानकारी दिएको बताइन्।

चीनको वुहानबाट सुरु भएर विश्वभर फैलँदै गरेको उक्त रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएको र मृत्यु हुनेमा पनि वृद्धवृद्धा नै बढी रहेको तथ्याङ्क सार्वजनिक भइरहेकाले आफूहरुको ध्यान वृद्धाश्रममा गएको अधिकारीले उल्लेख गरिन्। आफ्नो स्वयंसेवक टोलीमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यताप्रप्त विशेषज्ञ स्वास्थ्यकर्मी पवित्रा सापकोटासमेत संलग्न रहेको फाउण्डेशनले जनाएको छ।

फाउण्डेशनका अनुसार कोरोना संक्रमणको त्रास रहुञ्जेल सचेतनामुलक गतिविधि जारी राखिने छ। फाउण्डेशनले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै वृद्धाश्रममा सामग्री वितरण गर्ने योजना बनाएको छ। ‘हामी सामग्रीसहित वृद्धाश्रम पुग्दा वृद्धवृद्धाहरु धेरै खुसी हुनुभयो’, अधिकारीले भनिन्, ‘अहिलेसम्म राज्य वा अरु निकायबाट कोही पनि नगएको गुनासो उनले गरिन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्