काठमाडौ, ६ चैत। संयुक्त अरब इमिरेट्स ( यूएई ) को राजधानी आबु धाबीस्थित नेपाली दूतावासले नेपालीलाई कुनै पनि बिदा लिएर नेपाल नफर्कन आग्रह गरेको छ।
बिहीबार एक सुचनामार्फत दूताबासले संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, बिदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई यूएई ल्याउनेलगायतका कार्यहरू तत्काल बन्द गर्न आग्रह गरेको हो।
नेपाल सरकारले कोरोना भाइरस (कोभिड -१९) को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १८ मार्च २०२० को बैठकले २० मार्च २०२० को मध्यरातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा दूतावासले यूएईमा रहेका नेपालीलाई सरकारको स्वास्थ्य सुझावहरुको पालना गर्नसमेत आग्रह गरिएको छ। यूएईको परिचयपत्र र नागरिकता संघीय प्राधिकरणको सूचनाअनुरूप यूएईको आवासीय भिसा भएका व्यक्तिहरूका लागि १९ मार्च २०२० को अपरान्ह १२ बजेदेखि दुई हप्ताका लागि आगमन निषेध गरेको व्यहोरा दूतावासले सम्बन्धीत सबैमा जानकारी गराएको छ।



लोकपाटी न्यूज