काठमाडौं, ६ चैत। विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको प्रभाव अझै पनि कायमै छ। चीनबाट फैलिएको यो भाइरसले अहिले यूरोपका अधिकांश मुलूकहरु आक्रान्त बन्दै आएका छन्। काेराेनामुक्त घाेषणा गरिएकाे चीनमा समेत संक्रमितहरु देखिन थालेका छन्।
कोरोना भाइरस अहिले विश्वका १ सय ७३ मुलुकमा फैलिइसकेको छ। कोरोनाको असर चीनपछि इटालीमा बढी परेको छ। इटालीमा पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु भइसकेको छ। जसअनुसार हालसम्म २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन्। गत २४ घण्टाको अवधिमा इटालीमा ४ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ। यो समेत हालसम्म संक्रमितहरुको संख्या ३५ हजार ७ सय १३ पुगेको छ।
इटालीपछि दोस्रो ठूलो असर परेको इरानमा एकै दिन १ सय ४७ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १ हजार १ सय ३५ पुगेको छ। यहाँ एकै दिन ११ सय ९२ जना संक्रमित भेटिएका छन्। त्यसैगरि बेलायतमा पनि एकै दिन ३३ जनाको मृत्युपछि ज्यान गुमाउनेहरुको संख्या ६ सय ७६ पुगेको छ।
कोरोनाको उद्गम मुलुक चीनमा भने गत २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको छ भने १३ जना नयाँ संक्रमित भेटिएका छन्। कोरोना संक्रमण त्रास र यसबाट बच्नका लागि कट्टर मुस्लिम मुलुक साउदी अरबमा ब्यापक परिवर्तन आएको छ। त्यहाँस्थित पवित्र धार्मिकस्थल मक्का र मदिनामा बाहेक अन्य सबै मस्जिदहरुमा नमाज पढ्न रोक लगाइएको छ। दिनमा ५ पटक नमाज पढ्नुपर्ने धार्मिक नियम पूरा गर्न सबैलाई आ–आफ्नै घरमा नमाज पढ्न साउदी सरकारले निर्देशन जारी गरेको छ।
कोरोना (कोभिड १९) को प्रकोप फैलिएका सबै मुलुकहरुले बचावका लागि हर सम्भव प्रयास गरिरहेका छन् भने आम मानिसको सार्वजनिक जीवन खोसिएको छ। यो समाचार तयार पार्दासम्म विश्वभर ८ हजार ९ सय ५२ जनाको ज्यान लिएको कोरोनाबाट संक्रमण हुनेको संख्या २ लाख १८ हजार ९ सय ५३ पुगेको छ। त्यसैगरि ८४ हजार ७ सय ९५ जना उपचारपछि निको भइसकेका छन्।
नेपालमा धने हालसम्म कोरोना संक्रमित भेटिएका छैनन्। तर, डब्लुएचओका अनुसार नेपाल कोरोनाको उच्च जोखिममा छ। कोरोनाबाट बच्न नेपाल सरकारले समेत मानिसहरुको जमघट हुने क्षेत्रलाई बन्द गरिसकेको छ। सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न पनि सबैमा अपील गरेको छ।



लोकपाटी न्यूज

