काठमाडौं। यतिबेला कारोना भाइरसका कारण विश्व अर्थतन्त्र नै बिरामी परेको छ। नेपालमा पनि यसको प्रभाव पर्न थालेको छ। मानिसहरु भीडमा हिड्न छाडेका छन्। किनमेल गर्न छाडेका छन्। यात्रा पनि गर्न धेरैले छाडिसके। यसको प्रभाव स्कुल कलेजदेखि बैंक तथा वित्तीय संस्थामा पनि परेको देखिन्छ।
सरकारले विदेश जानेहरुको श्रम स्वीकृति रोकिदिएको छ। यसबाट झन्डै मुलुकको आधा अर्थतन्त्र धानेको रेमिट्यान्स पनि घट्ने पक्का छ। भ्रमण वर्ष २०२० को स्थगन हुँदा नेपालको पर्यटन व्यवसाय ठप्प बनेको छ। यद्यपि नेपालको अर्थतन्त्रमा कोरोनाले पार्न सक्ने प्रभावबारे अध्ययन सुरु गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपालमा हालसम्म कसैमा पनि भाइरसको संक्रमण नदेखिए पनि यसले समग्र अर्थतन्त्रमा पार्नसक्ने असरबारे राष्ट्र बैंकले अध्ययन थालेको हो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्टले यसको प्रभावका बारेमा अध्ययन थालिएको बताए। उनले भने, ‘यस्ता थुप्रै अध्ययन राष्ट्र बैंकले सधैं गर्छ। यद्यपि, यस विषयमा अध्ययन गर्न छुटै समिति गठन भने भएको छैन। तर हामीले आन्तरिक अध्ययन भने थालेका छौँ।’
उनकै नेतृत्वमा राष्ट्र बैंकमा रहेको अनुसन्धान विभागले यस विषयको अध्ययन थालेको हो। तर, अनुसन्धान विभागको काम नै अनुसन्धान गर्ने भएकाले थप समिति गठन गर्न आवश्यक नगरेको उनले प्रष्ट पारे। उनले विभागले कोरोनाको प्रत्यक्ष प्रभाव नेपालको औधोगिक क्षेत्र, व्यापार र पर्यटन क्षेत्रमा बढि पर्ने प्रारम्भिक आँकलन गरिएको बताए।
उनले गत ०७२ सालको भुकम्पको तहसनहसको स्थितिलाई सम्झँदै कोरोना आएपनि बैंक तथा वित्तिय क्षेत्रलाई खासै असर नपने बताए। उनले भने, ‘कोरोनाका कारण केही हदसम्म अर्थतन्त्र गिर्न सक्छ। तर बैंक नै बन्द गर्ने स्थिति त नआउला। यदी आइहाल्यो भने भन्ने प्रश्नमा उनले भने, ‘बैंकमा तरलता अभाव छैन। अहिले बैंकहरुसँग ७० अर्बको निक्षेप रहेको जानकारी गराउँदै उनले बैंकमा खराब कर्जा बढेपनि त्यसको नियन्त्रण गर्न राष्ट्र बैंक तयार छ।’
यता नेपाल राष्ट्र बैंकका कामु गर्भनरमा नियुक्त चिन्तामणि शिवाकोटीले वर्तमान अवस्थामा कोरोना भाइरसका कारण पर्यटकहरुमा कमी आउनाले होटल व्यवसायहरु ठप्प हुने अवस्थामा पुगेको बताएका छन्। उनले भने ‘ हामीले भ्रमण वर्ष २०२० पनि स्थगन गर्न बाध्य बन्यौं। यसले गर्दा पर्यटन व्यवसाय खस्किन गई व्यवसायबाट प्राप्त गर्ने राजश्व घट्न जान्छ। अझ गहिरिएर हेर्दा पर्यटन व्यवसाय खस्किँदा होटलहरुले लिएका कर्जा तिर्न सक्दैनन्। त्यसैले कर्जा विग्रेर खराब कर्जामा परिणत हुन सक्छ।’
यस्तै उनले वैदेशिक व्यापारमा पनि कमि आउने अनुमान पनि लगाए। उनले भने, ‘आयात पनि घट्नु त एक तरिकारले हाम्रो लागि राम्रो कुरा हो। तर, हामीलाई वस्तुहरुको चरम अभाव हुन सक्छ। वस्तुहरुको अभाव हुँदै गर्दा मूल्यवृद्धिका समस्याहरु झन जटिल बन्न सक्छन्।’
कोरोना भाइरसले सबैभन्दा धेरै थिलथिलो बनेको क्षेत्र होटल क्षत्र हो। कोरोनाका कारणले निम्त्याएको आपत्तिलाई गम्भिर रुपमा लिएर सरकारले व्यवसायीक संकटकाल घोषणा गर्नुपर्ने होटल व्यवसायीको माग छ। अधिकांश होटलहरु भाडाको घर र जग्गामा सञ्चालनमा रहेको भन्दै व्यवसाय ठप्प भएकाले भाडा तिर्न र कामदारलाई पारिश्रमिक दिनसमेत सक्ने अवस्थामा नरहेको होटल व्यवसायीहरु बताउँछन्।
सामान्य हिसावले तथ्याङकलाई केलाउँदा पनि नेपालका होटलहरु १ खर्ब बढी ऋणमा छन्। तर पछिल्लो समय तथ्याङ हेर्दा उनीहरुको अकुपेन्सी रेट १० प्रतिशत मात्रै रहेको होटल संघ नेपाल (हान) बताउँछ। उसका अनुसार यतीबेला व्यवसायीले उच्च नाफा आर्जन गर्नुपर्नेमा मासिक घाटा नै १ अर्ब ८० करोड छ। बैंकिङ समाचारमा खबर छ।



लोकपाटी न्यूज

