रेमिट्यान्स आधा प्रतिशतले घट्यो, विदेश जानेको संख्या बढ्यो

लोकपाटी न्यूज

काठमाडौं, ५ चैत। कोरोना भाइरसको असर नपर्नै रेमिटेन्स आय आधा प्रतिशतले घटेको छ। राष्ट्र बैंकले माघसम्मको तथ्याङ्क सार्बजनिक गर्दै रेमिटेन्स गत बर्षको तुलनामा आधा प्रतिशतले घटेर ५ खर्ब १३ अर्ब २१ करोड भित्रिएको जनाएको छ।

आर्थिक वर्ष २०७५ को साउनदेखि माघसम्म ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएकामा २०७६ को साउनदेखि माघसम्ममा ५ खर्ब १३ अर्ब रुपैयाँमात्र प्राप्त भएको हो। गत वर्ष २८.५ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाह यो वर्ष ०.५ प्रतिशतले घटेको राष्ट्रबैंकले जनाएको छ। गत वर्ष भन्दा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो । शोधनान्तर बचत २१ अर्ब ६१ करोड रुपैयाँमा छ। गत बर्ष ४९ अर्ब ३२ करोड घाटामा थियो। गत महिनाको तुलनामा बचत केही घटेको छ। पुसमा बचत २६ अर्ब ६५ करोड थियो।

माघमा चालु खाता घाटा ११२ अर्ब १५ करोड रुपैयाँ छ। विदेशी विनिमयको सञ्चिति असार मसान्तको तुलनामा बढेको छ। त्यस बेला १०३८ अर्ब ९२ करोड रहेकोमा माघमा आउँदा ५।६ प्रतिशतले बढेर १०९६ अर्ब ६८ करोड पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्