काठमाडौं, १६ फागुन। उपत्यकाको करिव ८० प्रतिशत भूभाग कंक्रिटले ढाकिसकेको छ। त्यसमा कालोपत्रे सडक र सिमेन्टेड भवनका संरचना पर्दछन्। कंक्रिटले ढाकेको भू-भागमा वर्षातको पानी भित्र छिर्नै पाउँदैन।
वर्षातको पानी सडकको किनारामा बनाएको पानीको निकासबाट सीधै खोलामा मिसिन्छ भने घरको छतमा वर्षिएको पानी पनि ढलमार्फत् खोलामै पुग्छ। वर्षातको पानी जमिनमुनि छिर्न नपाएपनि जमिन मुनिको पानी दोहन गर्ने क्रम भने बढ्दो छ। उपत्यकामा खानेपानी अभावसँगै अनधिकृत रुपमा डिप बोरिङ गर्ने क्रम बढ्दो छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक वितरण गर्दै आएको १० करोड ३० लाख लिटर पानी मध्ये चार करोड ३० लाख लिटर पानी जमिनमुनिबाटै तानेर वितरण गरिरहेको छ। काठमाडौं उपत्यकामा हाल अनुमति लिएर सञ्चालित ट्युबेल करिब सात सयवटा छन्। केयुकेएलले मात्रै ९० वटा डिपबोरिङ गरेको छ।
जमिनमुनि पानी छिर्न नदिने तर जमिनमुनिको पानी निरन्तर तानिरहने समस्या काठमाडौंको मात्र होइन, देशको सबैजसो सहरी इलाकाले यस्तै नियति भोगिरहेको छ। जमिन मुनि पानी छिर्न नपाउँदा भूमिगत पानीको सतह घट्दै गएको विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ। जमिनमुनिको पानी तानेर उपभोग गर्ने मात्रै नभई जमिन मुनि पानी पठाउने वा सोस्न दिने काम हो ‘भूमिगत पानी रिचार्ज’।
जमिनमा पानी रिचार्ज गर्न ठूलो खर्च पनि लाग्दैन, न त महँगो प्रविधि नै आवश्यक पर्छ । आकाशबाट वर्षिएको र घरमा उपभोग भएर बाहिरिने पानीलाई ढलमा मिसाउनुको सट्टा छुट्टै ट्यांकीमा जम्मा गर्नुपर्छ। त्यस्तो ट्यांकी नजिकै अर्को इनार बनाउनुपर्छ, जुन सतहबाट २० देखि ४० फिटसम्म गहिरो हुन्छ। इनारको तल्लो भागमा ठूलो आकारका गिटी, त्यसभन्दा माथि मसिना गिटी र त्यसभन्दा माथि तीन फिटसम्म खस्रो बालुवा राख्नुपर्छ। सबैभन्दा माथि जियो टेक्स्टाइल राख्नुपर्छ। त्यसमार्फत् वार्षिक करिव सात लाख ६७ हजार लिटर पानी रिचार्ज गर्न सकिने काठमाडांै महानगरपालिकाकी इञ्जिनियर निशा कोइरालाले बताइन्।
जमिनमुनि पानीको सतह घट्दै गएपछि काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ भनेर अभियान नै सुरु गरेको छ। यो जमिनमुनिको पानी पुनर्भरण गर्ने अभियान हो।‘हामीले वर्षौंदेखि जमिनको पानी तानेर तिर्खा मेटाएका छौँ। तर, जमिनमा कहाँबाट पानी आउँछ भन्ने कहिल्यै सोचेनौँ,’ महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने, ‘रित्तिँदै गएको जमिनमा पानी भर्न यो अभियान थालिएको हो।’ उनका अनुसार अभियान अन्तर्गत आकासे पानी संकलन गरी जमिनमुनि पठाउन कृत्रिम विधि अपनाइनेछ।
‘जमिनमुनिको पानी निकाल्न त्यहाँ पनि रिचार्ज आवश्यक छ,’ उनी भन्छन् ‘अहिले नै कदम चालिएन भने ५० वर्षपछिको काठमाडौंको अवस्था गम्भीर हुने निश्चित छ।’ जमिनमुनिको पानी निरन्तर उपभोग गर्ने तर आकासे पानीसमेत जमिनले सोस्न नपाउने भएकाले सतहमुनि पानीको मात्रा घटेको खानेपानी तथा सरसफाइविज्ञ इञ्जिनियर हरिप्रसाद शर्माले बताए। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार देशभर १० लाखभन्दा बढीले जमिनमुनिको पानी उपभोग गर्छन्।



लोकपाटी न्यूज

