काठमाडौं, १५ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक आज (बुधबार) सुरु हुँदैछ। बिहान ११ बजे राष्ट्रिय सभागृहमा सुरु हुने बैठकका लागि नेकपाको सचिवालय बैठकले एजेण्डाअनुसार तय गरेको छ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राख्नेछन्। त्यसपछि नेकपाका एकल कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमा पार्टी एकताको सिंहावलोकन, एकता प्रक्रिया, सरकारको समीक्षा, समसामयिक विषयहरु एवं पार्टीको आगामी योजना र कार्यक्रम समेटिएको नेकपाले जनाएको छ।
बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदनका साथै विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। अध्यक्ष र महासचिवको प्रस्तावमाथि केही सदस्यहरुले टिप्पणी गर्नेछन्। ४४५ जना केन्द्रीय सदस्यले नै बैठकमा आफ्नो कुरा राख्न कठिन हुने भएकाले नेकपाले केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो प्रदेशको समूहमा विभाजन गर्ने तयारी गरिरहेको छ।
केन्द्रीय सदस्यहरुले दिएको रायसहित पार्टीका प्रदेश कमिटिका अध्यक्षहरुले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्ट प्रस्तुत गर्नेछन्। उद्घाटन शत्रमा मिडियालाई खुला गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।



लाेकपाटी न्यूज

