प्रचण्डको गृहजिल्लामा वामपन्थी प्यानलको जीत

razu shrestha
लाेकपाटी न्यूज

चितवन, १ माघ । नेकपाका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा वामपन्थी शक्ति बलियो बन्दै गएको छ। उद्योग वाणिज्य संघ चितवनको ५३ औं  साधारणसभाबाट वामपन्थी प्यानलले सफलता हात पारे पश्चात चितवनमा नेकपा बलियो हुँदै गएको चर्चा सुरु भएको छ।

संघको अध्यक्ष पदमा नेकपा समर्थक राजु श्रेष्ठ निर्वाचित भएका छन्। उनले कांग्रेस निकट उम्मेदवार ज्ञानेन्द्रमान शाक्यलाई ७८७ मतान्तरले हराउँदै जीत हात पारे । कुल ३ हजार १ सय ७३ मत खसेकोमा श्रेष्ठले १ हजार ९ सय ८० र शाक्यले १ हजार १ सय ९३ मत ल्याए। १८ पदका लागि २५ जनाको उम्मेदवारी परेको थियो। विजयी भएका सदस्यहरु भने मिश्रित छन्। ५३ औं साधारणसभा एवं ३६ औं अधिवेशनमा यसपटक अध्यक्ष पदका लागि नेकपा र कांग्रेस समर्थकहरुको कडा टक्कर परेको थियो।

संघको वरिष्ठसहित चार उपाध्यक्ष निर्विरोध निर्वाचित भैसकेका छन्। वरिष्ठ उपाध्यक्षमा यसअघि पनि वरिष्ठ रहेका चुननारायण श्रेष्ठ, उपाध्यक्षमा सुमन श्रेष्ठ, चिरञ्जीवि सुवेदी र भोजराज कौंडाल निर्विरोध बनिसकेका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको गृहजिल्ला भएकोले पनि चितवनको हरेक राजनीतिक गतिविधिलाई राष्ट्रिय राजनीतिसँग जोडेर विश्लेषण गर्ने गरिन्छ। पछिल्लो समय प्रचण्ड हरेक हप्ता चितवनमा पार्टी कामकै सिलसिलामा जाने गर्छन्। निर्वाचनमा भरतपुर वडा नम्बर १६ मा नेकपाले हार ब्यहोरेपछि यसले राष्ट्रिय राजनीतिमा समेत ठूलै चर्चा बटुल्यो। चितवनको पछिल्लो घटनाक्रमले अन्ततः नेकपानै बलियो राजनीतिक शक्ति रहेको पुष्टि भएको छ । नेकपा समर्थकहरुले सामाजिक सञ्जालहरुमा पार्टी एक ढिक्का बन्दाको सुखद परिणाम भन्दै खुसियाली मनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं चितवन निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधीसभाका सदस्य पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकामा साढे दुई वर्षमा ३०९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। प्रचण्डले आफूलाई देशभर सक्रिय गराउँदै गर्दा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई प्राथामिकतामा राखेका छन्।

अधिकांश भित्री तथा महत्वपूर्ण सडकहरु धमाधम कालोपत्रे भैरहेका छन्। महानगरपालिकाका २९ वटा वडामध्ये १, २, ३, ४, ५, १०, ११, १२ र २९ नम्बर वडा बाहेक अधिकांश प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ।महानगरपालिका, सांसद विकास कोष, शहरी विकास मन्त्रालय तथा सडक डिभिजन कार्यालयले यी क्षेत्रका सडकलाई वर्गीकरण गरेर बजेट छुट्टाएका छन्। महानगरका भित्री तथा महत्वपूर्ण सडकमा कालोपत्रेको काम तीव्र पारिएको छ। अधिकांश महानगरको ग्रामिण भेगका बासिन्दाकोे घर अगाडि नै पिच बाटो पुगेको छ।

महानगरपालिकाले दिएको जानकारीअनुसार साढे २ वर्षको अवधिमा भरतपुर महानगरपालिकामा ३०९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। शहरी विकास मन्त्रालयबाट ६५ किलोमिटर र बाँकी महानगरको बजेटबाट कालोपत्रे गरिएको मेयर रेनु दाहालले जानकारी दिइन्। भरतपुरको चौविसकोठीदेखि पश्चिम लाग्ने दुई महत्वपूर्ण सडक यही अवधिमा कालोपत्रे भएका हुन्। भरतपुर–रामपुर–चनौली–मेघौली सडक धमाधम कालोपत्रे भैरहेको छ । भरतपुरबाट चनौलीसम्म कालोपत्रे गरेर सकिएको छ । चनौलीबाट मेघौलीसम्मको काम अहिले जारी छ।

केन्द्र, प्रदेश र स्थानीयतर्फको अधिकतम बजेट सडकमा हालीएको भरतपुर महानगर प्रमूख रेनु दाहालले बताइन्। महानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको रिङरोड १०५ किलोमिटरमध्ये १० किलोमिटर सडकखण्ड डीपीआरसँगै निर्माणको काम अघि बढिरहेको छ । रिङरोडलाई जोड्ने १५ वटा लिंक रोडको काम पनि धमाधम अघि बढेको महानगरले जनाएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, चितवन डिभिजन कार्यालयमातहत १२ वटा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । पश्चिम चितवनको मंगलपुरबाट दक्षिण हुँदै महेन्द्रचोक, शिवनगर, पार्वतीपुर, शुक्रनगरबाट मेघौली नजिकको तलौली निस्कने झण्डै २१ किलोमिटर लामो सडकको काम अघि बढिरहेको छ।

यो सडकलाई तीन खण्डमा बाँडेर प्याकेज १ र २ मा ठेक्का लगाइएको छ । यसलाई पश्चिम चितवनको अर्को रणनीतिक सडकका रुपमा हेरिएको छ। केन्द्र, प्रदेश र स्थानीयतर्फको अधिकतम बजेट सडकमा खन्याइएको भरतपुर महानगर प्रमूख रेनु दाहालले बताइन्। महानगरपालिकाले चालू आर्थिक वर्षमा थप एक सय किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि सारेको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधीसभाका सदस्य प्रचण्डले चितवनको हरेक कार्यक्रममा सहभागि हुदाँ ‘पाँच वर्षको अवधिमा भरतपुरका अधिकांश ठूला र महत्वपूर्ण सडक कालोपत्रे हुन्छ, जनताले धुलो खानुपर्दैन ।’भन्दै आएका छन्। प्रचण्डले चुनावी अभियानका क्रममा विजयी भए भने चितवनले चाहेको विकास साँच्चिकै गरेर देखाउने प्रतिबद्धता जनाएका थिए। त्योवेला उनले अबको ५ वर्षमा चितवनका हरेक सडक पिच हुने धुलो सडक देख्नु नपर्ने बताएका थिए। गृहजिल्ला चितवनमा प्रचण्ड हप्तामा एक पटक पुगेकै हुन्छन्। प्रचण्डको चितवन प्रवेशपछिका विकास निर्माणमा काम,योजना र उनले देखाएको चासो हेर्ने हो भने साँच्चिकै लोभ लाग्दो रहेको छ।