काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुस २७ गतेभन्दा अघि नै सभामुखको नाम टुङ्गो लाग्ने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुङ्गो लगाउने बताएका हुन्।
उनले भने, ‘अहिले पनि उपसभामुख हाम्रै पार्टीको सांसद हुनुहुन्छ, हामीले सभामुखमा दाबी गरेपछि अब उहाँले राजीनामा दिनुहुन्छ। संविधानले पनि सभामुख र उपसभामुख भिन्न दल र भिन्न लिङ्गको हुनुपर्छ भनेको छ। त्यसैले सभामुख हामीले लिएपछि उपसभामुखले राजीनामा दिनुहुन्छ।’ उनले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जिकिर समेत गरे।
उनले भने,‘हामी पुस २७ गते भित्रै यो सबै कुराको टुङ्गो लगाउँछौँ। जो भए पनि नेकपा कै हुनुहुन्छ।’ उपसभामुख प्रतिपक्षी दललाई दिने पनि उनले जनाए। उनले भने, ‘अहिले यसबारेमा छलफल हुँदैछ। हामी सहमतिअनुसार नै अघि बढ्छौँ।’ उनले नेकपामा अब पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र कोही पनि नभएको जिकिर गरे।
उनले भने, ‘पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र भन्ने कुरा मेरो दिमागमा छैन। मैले त पूर्व भन्ने कुरा डिलिट नै गरिसकेँ। यदी कोही नेताहरूसँग यो कुरा छ भने तपाइहरूले पनि डिलिट गर्नुहोस्।’ उनले पार्टी भित्र सभामुख कसलाई बनाउने भन्नेबारे व्यक्ति केन्द्रित छलफल नभएको स्पष्ट पारे। शर्माले भने, ‘नेकपाबाट सभामुख कसलाई बनाउने भन्नेबारे हाम्रा अध्यक्षद्वयबीच छलफल भइरहेको छ। उहाँहरूले दुई तीन मिनेटमै टुङ्गो लगाउने भन्नु भएको छ। उहाँहरूले जे निर्णय गर्नुहुन्छ, त्यही हुन्छ। यसमा कुनै समस्या छैन।’
उनले अहिले प्रतिपक्षमा नेपाली कांग्रेस मात्रै नभएको जिकिर गरे। उनले भने, ‘हामी सबैसँग छलफल गरिरहेका छौँ। एउटा निष्कर्षमा पुग्छौँ।’ तर सभामुख चयन प्रक्रियामा समय लाग्नु गलत भएको उनको दुखेसो छ। सभामुख चयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै चासो नराखेको पनि उनले स्पष्ट पारे।
उनले नेताहरूले राष्ट्रपतिलाई भेट्नुलाई आफूले नौलो रूपमा नलिएको पनि जिकिर गरे। उनले भने, ‘सरकारले पनि राष्ट्रपतिलाई ब्रिफ गर्छ। आवश्यक परे उहाँले पनि सरसल्लाह गर्नुहुन्छ। सभामुख चयनमा उहाँले कुनै चासो राख्नु भएको छैन। यो संसद्को चासोको विषय हो। अब सभामुख चयन प्रक्रिया लम्बिँदैन। यसमा राष्ट्रपतिको कन्सर्न छैन।’
शर्माले प्रदेश नम्बर २ को सरकार गिराउने वा ढाल्ने पक्षमा आफूहरू नरहेको पनि जिकिर गरे। उनले भने, ‘हाम्रो पार्टीले त्यस्तो केही सोचेको छैन।’ एमसीसी पारित हुने उनले विश्वास दिलाए। उनले भने,‘हामी छलफल गरेर यसलाई सहमति मै पारित गर्छौँ। तर, एमसीसीमा रहेका राष्ट्रिय अहितका विषय सच्याउँछौँ।’



लाेकपाटी न्यूज

