समाजवादी पार्टीसँग तत्काल एकता हुँदैन : महतो

Rajendra-Mahato
रासस न्यूज

लहान, ८ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्। संयोजक महतोले आज सिराहामा सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताए।

लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीहरुसँग एकताको कुरा भइरहेको उल्लेख गर्दै महतोले अहिले नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताए।

संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका मागहरु सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले संघीय सरकारलाई सहयोग गर्न नसक्ने बताए।

यही मंसिर १४ गते हुने उपनिर्वाचनलाई मधेश र मधेशीको पहिचान र अस्तित्व रक्षाको लागि जनमत सङ्ग्रहको रूपमा आफ्नो पार्टीले लिएको बताए।