योगोसिका सिटी र भरतपुर महानगरबीच आपसी सहयोग सम्झौता

लाेकपाटी न्यूज

चितवन, ३० असाेज। जापानको योगोसिका सिटी र भरतपुर महानगरबीच आपसी सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज भरतपुर महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमकाबीच जापानको योगोसिका सिटी र भरतपुर महानगरबीच सम्झौतामा हस्ताक्षर भएको छ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमूख रेनु दाहाल र योकोसुका सहरका मेयर कात्सुआकी कमीजीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेस सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याय, महानगरपालिकाका महाशाखा प्रमुखहरू, जापानी प्रतिनिधिमन्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र योगोसिका सिटीका मेयर कात्सुआकी कमीजीले सम्झौता पत्र एक आपसमा आदान प्रदान गरेका थिए।

साे अवसरमा जापानी मेयर कात्सुआकी कमीजीलले गौतम बुद्धको देशमा आउन पाउँदा अत्यन्तै हर्सित भएको बताए। आफ्नो महानगर र भरतपुर महानगरपालिकाको बीचमा भौगोलिक समानता भएको आफूले महसुस गरेको उनले बताए । आफ्नो सहरमा समुन्द्र पहाड र समथर भूभाग रहेको र औद्योगिक विकाससँगै पर्यटनको क्षेत्रमा अग्रणी रहेको बताउँदै भरतपुरबाट सिकेर आफ्ने सहरमा केही नयॉ अनुसरण गर्न आतुर रहेको उनकाे भनाइ थियो ।

भरतपुरलाई आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै आज सम्पन्न दुई पक्षीय सहयोग आदानप्रदान सम्बन्धी सम्झौता कोसेढुड्गा हुने बताउँदै यसका आधारमा आगामी दिनमा भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया अगाडि बढाउने उनले बताए।

भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले जापानको योकोसुका सहरका मेयर श्री कात्सुआकी कमीजी तथा सँगै आएका महानिर्देशक श्री युनोदान आइसाओ, निर्देशक श्री नाइटो काजिया, सुपरीवेक्षक श्री नाकाजिमा नाओकीलाई स्वागत गरेकी थिइन्। 

उनले जापानको टीम भरतपुर आउनु अत्यन्त खुसीको कुरा भएकाे बताइन्। उनले भनिन्, ‘जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध धेरै लामो छ र पछिल्लो समयमा यो थप प्रगाढ हुँदै गइरहेको छ। मित्र राष्ट्र जापान नेपालको एक असल मित्र हो। मित्रराष्ट्र जापानसँग दौत्य सम्बन्ध भए देखि नै जापानले नेपालको आर्थिक, सामाजिक, पूर्वाधार विकासका साथै साँस्कृतिक सम्बर्द्धनको क्षेत्रमा उल्लेख्य र नेपाली जनताको मन छुने सहयोग गरिरहेको छ।

उनले जापान सरकारले पछिल्ला दिनहरुमा दक्ष एवम् अर्धदक्ष कामदारहरु लागि उनीहरुलाई सीप विकास र रोजगारीको अवसर समेत प्रदान गरिरहेको बताइन्।

महानगर प्रमूख दाहालले दुई शहरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावको हार्दिक स्वागत गर्दै यसलाई छिटै मूर्तरुप दिन कानूनी र प्रक्रियागत तयारी पूरा गरिने प्रतिबद्धता व्यक्त गरिन्।

उनले दुई सहरबिच भगिनी सम्बन्धसम्म कायम गर्ने लक्ष्य लिएका बताइन्। उनले भनिन्, ‘भरतपुर महानगरपालिका नव निर्माणको प्रक्रियामा छ। भरतपुर महानगरपालिका स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिको क्षेत्रमा अग्रणी छ। हामी यस महानगरपालिकाको समग्र विकासलाई यहाँहरुको योकोसुका सहरसँग सहकार्य गरेर विकास निर्माण र समृद्धिमा एकले अर्कोसँग सहकार्य गरेर अगाडी बढ्न चाहन्छौँ।’

उनले अगाडि थपिन्, ‘विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज हाम्रो महानगरपालिकासँग जोडिएको छ। एक सिंगे विश्व प्रसिद्ध गैंडाको केन्द्र पनि हामीसँगै छ। हामी यसलाई पर्यटनको प्रमूख आकर्षण बनाउन चाहन्छौँ।’

कार्यक्रममा सांसद कृष्ण भक्त पोखरेलले दुई सहरबीच सम्पन्न दुई पक्षीय सहयोग आदानप्रदानसम्बन्धी सम्झौताले भरतपुरको समग्र विकासमा महत्वपूर्ण याेगदान पुग्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्