काठमाडौं, १३ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने आश्वस्त पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरि कतै पनि मासुको अभाव नहुने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकता हो। ४० हजार खसी बोका आउने भइसके । अब हामीलाई पर्याप्त हुन्छ । मासुको कुनै अभाव हुँदैन।’ दशैं सुरु भएकोले सरकारले बजारमा अनुगमन बढाएको पनि उनले सुनाए । चाडपर्व सुरु भएसँगै आपुर्तिमा असहजता भएको, व्यापारीको मनोमानी बढेको भन्ने गुनासो आएकोले कृषि मन्त्रालय र आपुर्ति मन्त्रालयले संयुक्त अनुगमन सुरु गरेको पनि उनको भनाई छ । उनले भने, ‘आपूर्ति सहज बनाउनको लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले नियमित अनुगमन गरिरहेको छ ।’
काठमाडौंमा खसीको मासुको मुल्य अस्वभाविक रुपमा वृद्धि गरिएको भनेर गुनासो सुनिएकोले सरकारले खसीको मासुको मुल्यवृद्धिबारे नियमन गरिरहेको छ । ‘हामी यसबारेमा निरन्तर छलफलमा पनि छौं, सबै कुराको विचार गर्दा पनि खसीको मासुको मुल्य ११ सय भन्दा माथि जाने अवस्था छैन् । हामी कडाई गर्छौं ।’–मन्त्री खनालले भने ।
खनालले मासुमा नेपाल आत्मनिर्भर हुने अवस्थामा रहेको सुनाए । उनले भने, ‘हामीले आफ्नै उत्पादनले ७५ प्रतिशतसम्म धान्न सक्छौं । कुखुरामा आत्मनिर्भर छौं ।’ खसी, बोकाको मासुमा आत्मनिर्भर बन्नको लागि मन्त्रालयले यसपटक जोन, सुपरजोन चलाउने, लाईभ स्टक इनोभेसनमा पनि खसी, बोका उत्पादन र कृषिमा युवा कार्यक्रम गरेर तीन वटा कार्यक्रम सुरु गरेको उनले सुनाए । आगामी तीन वर्षभित्र नेपाल खसी, बोकामा पनि आत्मनिर्भर हुने उनको दाबी छ ।
आफूहरुले बजार अनुगमनको कामलाई तिव्रताका साथ अघि बढाइएको सुनाउँदै केही मिठाई पसलले गुणस्तरहीन सामान बेच्ने गरेकोले गुणस्तरीयता कायम गर्न कडा निर्देशन दिएको पनि खनालले स्पष्ट पारे । आवश्यक परे आफू पनि अनुगमनमा उपस्थित् हुने उनले विश्वास दिलाए । बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने उनको चेतावनी छ ।
भारत सरकारले प्याज निर्यात नगर्ने भनेर निर्णय गरेको भनेर बाहिर हल्ला भएपनि आधिकारिक रुपमा आफूहरुलाई यसबारेमा जानकारी नभएको उनले स्पष्ट पारे । उनले भने, ‘भारतलाई नै अभाव भएकोले उसले निर्यात नगर्ने निर्णय गरेको सुनियो, तर आधिकारिक जानकारी छैन् ।’ नेपालमा प्याजको आपूर्ति ८० देखि ९० प्रतिशत रहेकोले प्याजमा मुल्यवृद्धि हुने संभावना देखिएकोपनि उनले सुनाए । तर, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कुरा मान्य नहुने भन्दै सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री खनालले चेतावनी दिए ।
आफूहरुले क्वारेन्टाइन चेकजाँच गरेर नै खशी, बोका भित्र्याउने गरेको पनि उनले सुनाए । उनले भने, ‘मासु जाँच ऐन–२०५५ अनुसार हामीले अनुगमन गरिरहेका छौं । तर, आपूर्ति असहज हुँदैन। पर्याप्त व्यवस्था गरिएको छ । ढुक्क हुन म आम उपभोक्तालाई आग्रह गर्छु ।’ भेडा, च्याङग्रा आउने हुम्ला र जुम्ला लगायतका उत्तरी भेगका नाका व्यवस्थित बनाइएको पनि उनले स्पष्ट पारे । त्यस्तै, दूध, दही र घ्यूको पनि पर्याप्त व्यवस्था गरिएको उनले सुनाए ।



लाेकपाटी न्यूज

