‘ज्येष्ठ नागरिकका लागि सरकार संवेदनशील छ’

Thammaya
रासस न्यूज

ललितपुर, २१ भदौ। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकका लागि सरकार सदैव सहयोग गर्न संवेदनशील रहेको बताएकी छन्।

गोदावरी नगपालिका–१४ बाडेगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज आयोजना गरेको ‘स्मारिका विमोचन तथा छैटौँ साधारणसभा’ कार्यक्रममा उनले मुलुकमा ज्येष्ठ नागरिकको हक–अधिकार सुनिश्चित गराउन विभिन्न कार्यक्रम अघि बढिरहेका स्मरण गराइन्। उनले भनिन्, ‘देशमा रहेका ७५३ स्थानीय तहमध्ये सरकारले करीब २०० स्थानीय तहमा जेष्ठ नागरिक सेवा केन्द्र शुरु गर्न लागेको छ।’

साठी वर्ष पार गरेका यस्ता व्यक्ति आदरणीयका साथै पूजनीय रहेको मन्त्री थापाको भनाइ छ। उनले विगतका युवा हालका ज्येष्ठ नागरिकले जीवनको लामो समय समाजमा योगदान गरिसकेकाले उनीहरुबाट पुरानो ज्ञान, अनुभव, सीप, कला, दक्षता र थुप्रै भोगाइ सङ्कलन गर्न सकिने बताइन्।

सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य पम्फा भुषालले समाजमा बढ्दै गएको सो केन्द्रको सुविधाले आज वृद्ध बुबाआमामा पुनःमिलनको सम्बन्ध फर्काउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘हामी सानो छँदा हरेक चोक, पसल र घर वरपरका पाटीपौवा वृद्धवृद्धाहरु बसेर कुराकानी र छलफल गर्ने परिपाटी थियो।’ उक्त परम्परा हाल हराउँदै गएकाले सो केन्द्रको स्थापनापछि पुनः सङ्गठित हुनेमा उनले खुशी व्यक्त गरिन्।

अर्का सदस्य नवराज सिलवालले ज्येष्ठ नागरिकले असल समाज निर्माण गर्न सहयोग गरेकामा राज्य उनीहरुप्रति निकै खुशी भइरहेको बताए। नगरपालिका उपप्रमुख मुना अधिकारीले ज्येष्ठ नागरिकको व्यवस्थापनका लागि नगरपालिकाले प्रत्येक वडामा एक लाख विनियोजन गरिसकेको जानकारी गराइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्