निगमको वाइडबडी जहाज पहिलो पटक जापानका लागि उड्यो

widebody-airplane
लाेकपाटी न्यूज

काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले १२ वर्षपछि आज बिहीबार पहिलो पटक जापानका लागि सिधा उडान गरेको छ। निगमको वाइडबडी जहाज आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको हो।

२ सय ७४ सिटे एअरबसको वाइडबडी जहाजमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसदसहित एक सय ३२ यात्रु जापान प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ।

यो पहिलो उडानमा निगमका १० जना कर्मचारी पनि सवार छन्। काठमाडौंबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुग्नेछ। जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ।

निगमले सातामा मंगलबार, बिहीबार र शनिबार काठमाडौ–ओसाका उडान गर्ने तालिका राखेको छ। जापानमा पनि नेपाल वायुसेवा निगमको पहिलो उडानलाई स्वागत गर्ने तयारी भैरहेको छ।

जहाजलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत नै विमानस्थल पुग्ने कार्यक्रम छ। निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ। यो उडानसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्रा्ष्ट्रिय रुट पुगेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्