काठमाडौं। घुस खुवाएर सगरमाथा आरोहण गरेको आसंकामा केही पर्वतारोहीमाथि पर्यटन मन्त्रालयले छानविन सुरु गरेको छ। पर्यटन विभागको छानविन पछि मन्त्रालयले छानविन सुरु गरेको हो। नक्कली सगरमाथा आरोहणबारेमा छानविन प्रक्रिया मन्त्रालयमा पुगेको विभागले जनाएको छ।
सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत (लियोजन अफिसर) ले सगरमाथा चुचुरोमा नपुगेका एक आरोहीलाई सगरमाथा आरोहण गरेको प्रमाणित गरिदिएका हुन्। चुचुरोमै नपुगेका आरोहीलाई चुचुरामा पुगेको भनी प्रमाणित गर्ने लियोजन अफिसर सामान्य कर्मचारी मात्र होइनन, नेपाल प्रहरीका इन्सपेक्टर डिल्लीबहादुर थापा हुन्।
चुचुरोमै नपुगे पनि सगरमाथा आरोहण गरेको प्रमाण पत्र लिन सफल भएका भारतीय पर्वतारोही नाहिता मञ्जुर हुन। लियोजन अफिसर थापाको सिफारिशमा पर्यटन विभागले मञ्जुरलाई सगरमाथा आरोहण गरेको प्रमाण पत्र समेत दिएको छ। प्रमाण पत्र दिइसकेपछि छानिवन प्रक्रिया अघि बढेको हो।
विभाग अहिले उक्त प्रमाण पत्र रद्द गर्ने तयारीमा छ। छानविनपछि प्रमाण पत्र रद्द गरिने विभागका महानिर्देशक डण्डुराज घिमिरिको भनाइ छ। चुचुरोमै नपुगे पनि मञ्जुरले चुचुरोमा पुगेको प्रमाण पत्र लिन सफल भएका हुन्।
सम्पर्क अधिकृतले प्रमाणित गरेपछि उनले सगरमाथाको चुचुरोमा पुगेको प्रमाण पत्र लिन पर्यटन विभागमा निबेदन पेश गरेका थिए। विभागले प्रमाण पत्र दिए पछि उनको आरोहणकोबारेमा आरोहण टोलीमा गएका अन्य सदस्यहरूले प्रश्न उठाएका थिए। यसपछि विभागले मञ्जुरले सगरमाथाको चुचुरोमा पुगेको-नपुगेको विषयमा अनुसन्धान सुरु गरेको हो।
मञ्जुरलाई सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गर्ने सम्पर्क अधिकारी थापा भने वेस क्याम्पसम्म मात्र पुगे। अधिकांश सम्पर्क अधिकृतहरू वेस क्याम्पसम्म नै पुग्दैनन्। थापा भने वेस क्याम्पसम्म पुगे। थापा हाल काभ्रे जिल्लामा कार्यरत छन्। मञ्जुरलाई सगरमाथामा लैजाने एजेन्सी स्नो होराइजन हो। मञ्जुरको टोलीमा ११ जना सदस्य थिए। युएइका एक आरोहीले पनि यस्तै नक्कली दावी गरेका विभाग स्रोतको भनाइ छ।
तर उनलाई विभागले प्रमाण पत्र दिएको छैन। मञ्जुरले विभागमा पेश गरेको फोटो र अन्य प्रमाणको बारेमा छानविन भइरहेको विभागको भनाइ छ। विभागका एक कर्मचारी भन्छन,‘मञ्जुरको सगरमाथा आरोहण नक्कली हो भन्ने करिब करिब पुष्टि भइसकेको छ। अब यस घटनामा कस कसलाई जिम्मेवार देखाउने भन्ने प्रश्न ठूलो हो।’
६ हजार ५सय मिटरभन्दा अग्ला हिमाल आरोहणमा जान आरोहण टोलीले एक जना सम्पर्क अधिृकत लैजानु पर्ने कानुनी व्यवस्था छ। सम्पर्क अधिकृत सरकारी कर्मचारी हुनु पर्छ। सम्पर्क अधिृकतले सम्बन्धित आरोही चुचुरोमा पुगेको-नपुगेको प्रमाणित गर्ने गर्छन्। सम्पर्क अधिकृतले प्रमाणित गरेपछि मात्र उसले आरोहण पूरा गरेको प्रमाण पत्र पाउछ। चुचुरोमा पुगेको प्रमाणित गर्न सम्बन्धित आरोहीले फोटो पेश गर्नुपर्ने कानुनमा व्यवस्था छ।
विभागले यस वर्षको वसन्तकालीन मौसममा ३सय ८१ जनालाई सगरमाथा आरोहण गर्न अनुमति दिएको थियो। ती मध्ये २सय १३ आरोहीले सगरमाथा आरोहणमा गएको रेकर्ड विभागसँग छ। आरोहणमा पुगेका आरोहीलाई विभागले प्रमाण पत्र दिन सुरु गरेको छ।
विभागका अनुसार चुचुरोमा पुगेको प्रमाण पेश गरेपछि विभागले प्रमाण पत्र दिन सुरु गर्छ। यस वर्ष सम्पर्क अधिकारीको भुमिकाको विषयमा प्रश्न उठे पछि सरकारले एक महिना अघि पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। सो समितिले अहिले काम सुरु गरीरहेको बताइएको छ।
एक जना लियोजन अफिसरले एक पटक ३ देखि साढे ३लाख सम्म रुपैयाँ पाउछन्। चुचुरामै नपुगेका आरोहीलाई चुचुरामा पुगेको प्रमाणित गर्ने लियोजन अफिसले पाउने रुपैयाँको सम्बन्धमा भने सहमतिबाटै टुंगो लगाइन्छ स्रोतले भन्यो। तर बेस क्याप्म पुगेका एक जना लियोजन अफिसर भन्छन, ‘यसमा लियोजन अफिर निर्दोष पनि हुन सक्छन्। आरोही चुचुरामो पुगेको प्रमाणित गर्ने वैज्ञानिक विधि हामीसँग छैन।
आरोहीले खिचेको फोटो र उनिसँग गएका अन्य साथीहरुको विश्वास गरेर प्रमाणित गर्नु पर्ने हुन्छ।’ यतिसम्म कि, आरोहीले आफूले सगरमाथा आरोहण गरेको देखाउन चुचुरोमा गएको फोटो खिचे मात्र पुग्छ। कानुन अनुसार चुचुरोमा पुगेको भिडियो खिच्नु पर्ने बाध्यता आरोहीलाई छैन।



लाेकपाटी न्यूज

