महानगरको धुलोबाट इँटा बनाउँदै

brumer
लाेकपाटी न्यूज

काठमाडौं, ४ साउन । काठमाण्डौं महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ।

यान्त्रिक कुचो सुरु भएदेखि अहिलेसम्म त्यो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो। त्यसका लागि नियमित धुलो नचाहिने हुँदा धुलोलाई इँटा बनाउन दिने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। सडकबाट सङ्कलन भएको धुलो इँटा बनाउनका लागि उपयुक्त हुने बताइएको छ।

महानगरले सञ्चालन गरिरहेका सबै ब्रुमरले दैनिक आठ टनसम्म धुलो सङ्कलन गर्ने गरेका छन्। यो फोहर अरु फोहरमा मिसाउने नगरिएको उनको भनाइ छ। उनले भने, ‘हामीले फोहरलाई सकेसम्म सदुपयोग गरेर कम परिमाणमा डम्पिङ साइटमा लैजाने योजना बनाइरहेका छौँ ।’यान्त्रिक कुचो (बु्रमर) ले धुलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसले सङ्कलनको समेत काम गर्दै आएको प्रवक्ता डङ्गोलले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्