यसरी जोगिनुहोस् गर्मीमा हुने स्वास्थ समस्याबाट

garmi pic
लाेकपाटी न्यूज

काठमाडौं। अझै केही महिना गर्मी जारी रहने मौसमविद्हरुले बताएका छन्। गर्मीको यो मौसममा विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुनु स्वभाविकै हो।

मौसम परिवर्तन, धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले गर्मी मौसममा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । अन्य मानिसको तुलनामा बालबालिकालाई गर्मीले बढी सताउने गर्छ । गर्मीयाममा तापक्रम वृद्धिसँगै प्रदूषण तथा धुवाँ–धुलो बढ्दै जान्छ। गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्ने गर्छन्।

जसका कारण मानिसमा विभिन्न संक्रमण हुने सम्भावना बढेर जान्छ। ती समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो।

१.घमौरा

गर्मीमा हामी सबैलाई घमौराले अति नै सताउँछ। तराईका जिल्लाहरुमा त घमौराले झन बढि दुःख दिन्छ।
वास्तवमा गर्मीमा पटक-पटक पसिना आउँदा शरीरका रोमछिद्रहरु बन्द हुन्छन्। त्यसले छालामा स(साना दानाहरु देखा पर्छ। त्यसैलाई हामी घमौरा भन्छौं। शरीरमा घमौरा आउने बित्तिकै आत्तिनु हुँदैन। यसबाट जोगिने उपायहरु यस्ता छन्।

घमौराबाट बच्नका लागि घाममा धेरै बेर बस्नु हुँदैन। घर बाहिर काम गर्नु पर्दा सकेसम्म छायाँ अथवा छहारीमा बसेर काम गर्ने प्रयास गर्नु पर्छ। आफ्नो शरीरलाई सकेसम्म भिजाउने प्रयास गर्नु पर्छ। सुती अथवा लिनेनको लुज फिटिङ पहिरन लगाउनु पर्छ, यस्तो पहिरनले शरीरमा आउने पसिनालाई सोस्छ।यसका साथै केही घरेलु उपाय अपनाएर समेत घमौराबाट छुटकारा पाउन सकिन्छ । मुलतानी माटोमा गुलाबजल र थोरै पानी मिसाएर पेस्ट बनाउने र त्यसलाई घमौरा आएको स्थानमा प्रयोग गर्ने र सुकेपछि पानीले धुने।

यसबाट घमौरा चाँडै निको हुने गर्दछ। दोस्रो उपाय पनि छ। निमको पात पिसेर त्यसको लेप प्रयोग गर्दा पनि घमौराबाट आमार मिल्छ। यसबाहे नुहाउने पानीमा तीन टेबुल स्पुन बेकिङ सोडा मिसाएर नुहाउँदा पनि घमौरा बिसेक हुन्छ। यसबाहेक बेसनको पेस्ट बनाएर घमौरा आएको ठाउँमा लगाउँदा पनि आराम मिल्न सक्छ।

२.डिहाइड्रेसन

गर्मीमा धेरै पसिना आउनाले अथवा शारीरिक क्रियाकलाप बढि हुनाले हामीलाई डिहाइड्रेशनको समस्या हुन्छ। टाउको दुखाई, थकान, घाँटी अथवा ओठ सुक्नु, पिसाबको रंग परिवर्तन हुनु, हात खुट्टाको दुखाई, रिंगटा लाग्नु आदि डिहाइड्रेसनका लक्षणहरु हुन्।

डिहाइड्रेसनबाट बच्नका लागि प्रसस्त मात्रामा पानी पिउनु पर्छ। काममा व्यस्त हुनुहुन्छ भने पनि कामको बीच-बीचमा पानी पिउनु पर्छ। ब्यायाम गरिरहनु भएको छ भने पनि प्रत्येक बीस मिनेट पछि पानी पिउनु पर्छ।

हरेक दिन कम्तिमा ४-५ ग्लास कागती पानी पिउनु पर्छ। बालबालिकालाई त झन् छोटो अवधिकै ग्यापमा पानी अथवा फ्रुट जूस दिनु पर्छ। डिहाइड्रेसनबाट बच्नका लागि चिया तथा कफि र सोडाबाट टाढै रहनु पर्छ।
त्यसो त केही घरेलु उपायद्वारा पनि डिहाइड्रेसनबाट छुटकारा पाउन सकिन्छ। त्यसका लागि एक कप पानीमा एक चिया चम्चा सोठ पाउडर मिसाएर दिनमा ३-४ पटक सेवन गर्नु लाभदायक हुन्छ। यस बाहेक दिनमा ४-५ पटक कागती पानी र नरिवल पानी पिउनुपर्छ। शरीरमा पोटासियमको कमीलाई पूरा गर्नका लागि केरा लाभदायक हुन्छ।

यसका साथै पानीकोे मात्रा धेरै भएका फलहरू जस्तै खरबुजा, तरबुजा, स्ट्रेवेरी, काक्रो आदि खानुपर्छ।
डिहाइड्रेशनलाई कम गर्नका लागि स्याउ र सुन्तलाको जुस पिउनुपर्छ।

३.फुड प्वाइजन

गर्मीमा हामीलाई फूड प्वाइजन हुने सम्भावना पनि उत्तिकै हुन्छ। गर्मी मौसममा थुप्रै खानेकुराहरुमा ब्याक्टेरियाहरु चाँडै फैलिने भएकाले धेरै जनालाई गर्मीमा प्वाइजन हुन सक्छ। यदि तपाईंलाई बान्ता आउने, रिंगटा लाग्ने, ज्वरो, डायरिया, टाउको दुखाई, शरीर दुखेको छ भने तपाईंलाई फुड प्वाइजन भएको हुनुपर्छ। फुड प्वाइजनबाट तत्काल राहत पाउनका लागि एक ग्लास मन तातो पानीमा कागती, नुन र सख्खर मिसाएर पिउनुपछ ।

दुध अथवा डेरी प्रोडक्सनका साथै मांशाहारी खानाबाट बच्नु पर्छ। खाना बनाउँदा सरसफाइमा विशेष ध्यान दिनुपर्छ। तातो र ताजा खाना खानुपर्छ। बासी खानाबाट बच्नुपर्छ। शौचालय प्रयोग गरेपछि र खाना खानु अगाडि अनिवार्य रूपमा एन्टीबेक्टेरियल साबुनबाट राम्ररी हात हुनुपर्छ। बजारमा विक्री भएका खुल्ला खानाको प्रयोग गर्नु हुँदैन।

केही घरेलु उपायहरु अपनाएर पनि फूड प्वाइजनिङबाट बच्न सकिन्छ। त्यसका लागि पेटको जलन र दुखाइलाई कम गर्नका लागि एउटा चिया चम्चा महमा केही थोपा अदुवाको जुस मिसाएर सेवन गर्नु राम्रो हुन्छ। वाकवाकी र दुखाईको अवस्थामा तुरुन्त राहत प्राप्त गर्नका लागि एउटा चिया चम्चा दुधमा एक चम्चा मेथीदाना मिलाएर खानु गर्नुपर्छ।

एउटा चिया चम्चा कागती रसमा एक चिम्टी सख्खर मिसाएर दिनमा तीन पटक खानु गर्नुपर्छ। एक चम्चा महमा एक चम्चा तुलसीको रस मिसाएर दिनमा ३-४ पटक सेवन गर्नु फाइदाजनक हुन्छ। एउटा लसुनको दानालाई पानीका साथमा खानाले पेट दुखाइमा आराम प्राप्त हुन्छ।

आँखाको समस्या

गर्मी मौसममा एलर्जी तथा संक्रमणको सम्भावना बढि हुन्छ। त्यसले आँखामा कन्जक्टिभाइटिस हुन्छ। आँखा रातो हुनु, सुन्निनु, चिलाउनु तथा चिपचिपाहट हुनु यसको लक्षण हो। यो समस्याबाट जोगिनका लागि घामबाट जोगिनु पर्छ।

घाममा जानै परेमा गगल्सको प्रयोग गर्नु पर्छ। हातलाई प्रायः सफा राख्निु पर्छ, त्यसका लागि एन्टिसेप्टिक साबुनले हात धुनु पर्छ। राम्ररी निद्रा पुर्‍याउनु पर्छ। निद्रा पूरा नभएमा रोग प्रतिरोधामक क्षमता कमजोर हुन जान्छ, जसका कारण शरीरमा इन्फेक्सनसँग लड्ने क्षमता कम हुन्छ।

आँखामा समस्या उत्पन्न भएमा बालबालिकालाई आमाको दुधको २-३ थोपा उसको दुबै आँखामा प्रयोग गर्नु लाभदायक हुन्छ। बाख्रा अथवा गाईको काँचो दुधको केही थोपा आँखामा प्रयोग गर्नाले पनि यो इन्फेक्सन चाँडै निको हुने गर्छ। काँचो आलुलाई काटेर आँखामा प्रयोग गरेमा आँखा सुन्निएको निको हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्