सरकारले बढायो पर्यटनका लागि भिसा शुल्क, कुन को कति ?

लाेकपाटी न्यूज

काठमाडौं, १ साउन । सरकारले १० वर्षपछि आजबाट लागू हुने गरी पर्यटनका लागि भिसा शुल्क बढाएको छ । सरकारले पर्यटनका लागि भिसा शुल्क बढाउनु गलत भएको तर्क पर्यटन व्यवसायीहरुले गरेका छन् । उनीहरुले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भिसा शुल्क बढाउन नहुने बताएका छन् । यद्यपी अद्यागमन विभागले भने थोरै मात्रै शुल्क बढाइएको बताएको छ ।

बढाइएको शुल्क अनुसार अब पर्यटकले १५ दिनका लागि बहुप्रवेशी सुविधा सहितको भिसाका लागि ३० अमेरिकी डलर तिर्नु पर्ने छ । यस अघि १५ दिनका लागि २५ डलर शुल्क कायम गरिएको थिए । ३० दिनका लागि ५० अमेरिकी डलर लाग्ने छ । यसअघि यो शुल्क ४० डलर थियो । ९० दिनका लागि १२५ अमेरिकी डलर बुझाउनु पर्नेछ । यसअघि ९० दिनका लागि १०० अमेरिकी डलर शुल्क लाग्दै आएको थियो ।

राजपत्रमा प्रकाशित अध्यागमन नियमावलीमा उल्लेख भए अनुसार सार्क राष्ट्रका सदस्यका राहदानी बाहकलाई भने ३० दिनसम्मका लागि भिसा दस्तुर लाग्दैन् । त्यस्तै, म्याद थप गर्नका लागि प्रतिदिन ३ अमेरिकी डलरका हिसाबले बुझाउनुपर्छ । म्याद थप अवधिका लागि मात्रै मान्य हुने गरी बहुप्रवेशी सुविधा माग गरेमा बमोजिमको दस्तुरमा २५ अमेरिकी डलर लाग्नेछ ।

भिसा थप नगरी बसेका विदेशीको भिसा नियमति गर्नु परेमा बमोजिम लाग्ने दस्तुरमा ५ अमेरिकी डलर थप लाग्छ । नेपालमा भारतीय पर्यटकलाई भिसा शुल्क लाग्दैन् । भने सरकारले चिनियाँ पर्यटकका लागि पनि भिसा शुल्कमा छुट दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्