बेलुकासम्म एकताको काम टुंगिन्छ : अध्यक्ष प्रचण्ड

Prachanda chitwan
लाेकपाटी न्यूज

काठमाडौं, ३१ असार। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बेलुकासम्म पार्टी एकताको बाँकी काम टुंग्याउने बताएका छन्। नेकपा ललितपुर जिल्ला कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘हामी दुवै अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड) ले असार महिनाभित्र एकताको बाँकी काम टुंग्याउने भनेका थियौं, त्यसै अनुसार तीन दिनदेखि हामी गम्भीर गृहकार्यमा जुटेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकताको सवै काम आज बेलुकासम्म टुंगो लगाउँछौं।’ केही दिनदेखि एकताको काम सकाउन आफूहरु लागिरहेको भन्दै अध्यक्ष प्रचण्डले आज (मंगलबार) बेलुकासम्म आधारभूत रुपमा सबै काम सकिने बताएका हुन्।

‘आज बेलुकासम्म कार्यबिभाजन, जेष्ठ, कम्युनिस्ट मञ्च, सल्लाहकार कमिटी, विशेष कमिटी, केन्द्रीय बिभाग टुंग्याउँछौं,’ अध्यक्ष प्रचण्डले भने, ‘जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार, केन्द्रीय विभाग, निकायको काम टुंगो लागिसकेको छ।’ अध्यक्ष प्रचण्डका अनुसार आज टुंगो लगाएर केन्द्रीय सचिवालय बबैठकमार्फत अनुमोदन गरिने छ। सचिवालयको अनुमोदनपछि स्थायी कमिटी बैठकमा लगेर पुनः अनुमोदन गराइने छ।

‘सचिवालय, स्थायी समिति बसेर त्यसलाई अन्तिम रुप दिने र केन्द्रीय कमिटी बैठक बसाएर एउटा अभियानसहित देशभरी जाने निर्णय हुन्छ,’ प्रचण्डले भने। अध्यक्ष प्रचण्डले पार्टी एकतालाई असफल पार्ने प्रतिक्रियावादीको सबै अस्त्र असफल भएको र एकताले अब अन्तिम रुप लिएको घोषणा पनि गरे।