काठमाडौं, २७ असार । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ। नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए। विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
विभिन्न गन्तव्यबाट आएका विमान नेपाली आकासमै होल्डमा परेका छन्। यती एयरलाइन्सको जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएर विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय विमान आकाशमै होल्ड हुन पुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, विमानस्थल बन्दपछि विभिन्न विमानहरुले आकासमा फन्को मारिरहेका छन्। फ्लाइट राडारको कभरेजले देखाए अनुसार कोलकत्ताबाट आएको बुद्धको जहाज अवतरणको लाइनमा थियो। तर, विमानस्थलमा यतीको विमान चिप्लिएपछि यो विमान अहिले ठाउँ नपाएर आकासमा फन्को मारिरहेको छ।
त्यसैगरी, बैंककबाट आएको थाई एयर, ढाकाबाट आएको विमान बंगलदेशको विमान पनि काठमाडौं आउने क्रममा होल्डमा परेका छन्। दोहाबाट आएको कतार एयरलाइन्सको जहाजले पनि अहिले आकासमा फन्का मारिरहेको छ।



लाेकपाटी न्यूज
