काठमाडौं। नेकपाको एकता प्रक्रिया र सरकारको कामकाजका विषयलाई लिएर नेकपाभित्र मतभेद बढेको प्रचारबाजी भइरहे पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले आफूहरुले जनताले गरेको भरोसा टुट्न नदिने बताउँदै आएका छन्।
पार्टीभित्र मतभेद बढेको, सरकारको समीक्षामा पार्टीभित्र फरकफरक मत आइरहेको, प्रचण्डले सरकारलाई असहयोग गरेको, ओलीले प्रचण्डका कुरा नसुनेकोजस्ता समाचार बाहिर आइरहे पनि ओली र प्रचण्डले पार्टीका आन्तरिक बैठक र भेटघाटमा एकताका पक्षमा दृढतापूर्वक उभिन निर्देशन दिँदै आएका छन्।
प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा कामहरु जनतामाझ लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिँदै आएका छन्। यता अध्यक्ष प्रचण्डले पनि नयाँ बजेटमा धेरै सकारात्मक कुराहरु समेटिएकाले त्यसको कार्यान्वयनका लागि सिंगो पार्टी पंक्ति तयार रहनुपर्ने बताउँदै आएका छन्। प्रचण्डले आन्तरिक रुपमा पार्टीको समीक्षा आवश्यक रहेको तर जनतामा एकताको शक्तिशाली सन्देश लैजानुपर्नेमा जोड दिँदै आएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका सकारात्मक काम कारवाहीलाई जनताका माझमा लैजान सांसदहरुलाई निर्देशन दिँदै आएका छन्। उनले सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहेको भए पनि जनताका बीचमा पुग्न नसकेको भन्दै प्रभावकारी रुपमा प्रचार गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले सांसदहरुलाई स्पष्ट दृष्टिकोणका साथ सदनमा प्रस्तुत हुन आग्रह गर्दैै विगतमा केही कमीकमजोरी भएका भए त्यसलाई आगामी दिनमा सुधार गरेर जाने बताएका छन्।
उनले सरकारले आवश्यकताका आधारमा केही विधेयक प्रस्तुत गरेकाले विषयवस्तुमा रहेर छलफल गर्न र सच्याउने ठाउँ भएको अवस्थामा त्यसलाई सच्याइने पनि बताएका छन्। उनले पार्टीभित्र कुनै ठूलो विवाद नभएकाले अनावश्यक प्रचारका पछि नलाग्न पार्टी पंक्तिलाई निर्देशन दिँदै आएका छन्। ओलीले आफूहरुले निकै सोचेर पार्टी एकताको निर्णय गरेकाले त्यसबाट पछि फर्कन नसकिने बताउँदै आएका छन्।
अध्यक्ष प्रचण्डले पनि पार्टी एकता इतिहासको आवश्यकता र आफूहरुले निरन्तरको प्रयासको प्रतिफल भएको बताउँदै आएका छन्। सरकारप्रति असन्तुष्टि राख्नेहरुलाई प्रचण्डले पार्टी र सरकारका कामको आन्तरिक रुपमा समीक्षा आवश्यक रहेको र बाह्य रुपमा प्रतिरक्षा एवं शक्तिशाली सन्देश जरुरी रहेको बताउँदै आएका छन्। उनले पार्टीभित्र पूर्वएमाले वा पूर्वमाओवादी होइन, नेकपाको शक्तिशाली र फराकिलो सोंच बनाउन पनि नेताहरुलाई आग्रह गर्दै आएका छन्।
ओली–प्रचण्डबीच कैयौं विषयमा बेलाबखत छलफल र अन्तरक्रिया हुने गरे पनि सम्बन्ध हार्दिक र सकारात्मक रहेको नेताहरुको भनाइ छ। दोस्रो पुस्ताकै कतिपय नेताहरुले विषयलाई तन्काउने प्रयास गर्दा कार्यकर्तामा केही आशंका देखिँदै आएको छ। तर, अध्यक्षद्वय ओली र प्रचण्ड नेकपालाई शक्तिशाली बनाएर जनताको भावना सम्बोधन गर्नुपर्नेमा एकमत रहँदै आएका छन्।



लाेकपाटी न्यूज

