चितवन, २५ असार । चितवनमा नै पहिलो पटक चितवन इञ्जिनियरिङ क्याम्पस भरतपुर सञ्चालनमा आउने भएको छ।त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको इञ्जिनियरिङ अध्ययन संस्थानको आङ्गिक क्याम्पस भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा महानगर र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सञ्चालन हुने पक्का भएको हो।
टियु अन्र्तगत रहेको इञ्जिनियरिङ अध्ययन संस्थानले चालु आर्थिक वर्ष २०७६/७७ का लागि प्रवेश परीक्षा आव्हान गरेसँगै चितवनमा नै चितवन इञ्जिनियरिङ क्याम्पस सञ्चालन हुने पक्का भएको हो। जसका कारण अब शैक्षिक हबका रुपमा विकसित चितवनबासीले ईन्जिनियर भरतपुरमा नै अध्ययन गर्न पाउने भएका छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको ४० विद्या जग्गामा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त १ करोड रुपैयाँ खर्च गरि क्याम्पस सञ्चालनको तयारी भईरहेको भरतपुर महानगरका सचिवालय प्रमूख गोपाल न्यौपानेले जानकारी गराए। साथै मेयर रेनु दाहालको पहलमा छिट्टै क्याम्पसको अन्य पुर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयमा लबिङ्ग समेत उनले बताए।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र त्रिभुवन विश्वविद्यालयबिच सम्पत्ती हस्तान्तरण प्रक्रियामा नै रामपुरमा कृषिले टियुलाई र टियुले कृषिलाई हेटौंडामा जग्गा दिने सहमति यसअघि भए अनुसार रामपुरमा नै जग्गा उपलब्ध गराएपछि इञ्जिनियरिङ क्याम्पस बन्ने सूनिश्चत भएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन्।
“शिक्षामा नगरबासीसँगै चितवनबासीलाई के गरौँ भन्ने म मेयर भएदेखि पहल थालेको थिए मेयर रेनुले भनिन् , अब इञ्जिनियरिङ क्यापम्स दक्षिण एशियाकै नमुना बनाउने छौँ।” उनले क्याम्पस ल्याउन सहयोग गर्ने टियुका भिसि प्रा. डा. तिर्थ खनियासहित सबै पदाधिकारीहरुलाई धन्यवादसमेत दिएकी छिन्। टियुले चितवनमा यस वर्ष ९६ जनाको सिटका लागि भर्ना समेत खुलाएको छ।
चितवन इञ्जिनियरिङ क्याम्पसमा क्रमिक रुपमा इन्जिनियरीङ्ग विद्याका १६ वटा कार्यक्रम र शिक्षक र विद्यार्थीहरुलाई आवासीय रुपमा नै राखेर पढाउने भावी योजनासमेत रहेको उनले बताइन्। साउनदेखि कक्षा सुरु गर्न हाल रामपुरको कर्बड हललाई प्रशासकीय भवन बनाएर काम अगाडीसमेत बढि सकेको क्याम्पसले जनाएको छ।



लाेकपाटी न्यूज

