मन्त्रिपरिषद् बैठक चल्दाचल्दै बाहिरिए मन्त्री मातृका यादव

Matrika Yadab
लाेकपाटी न्यूज

काठमाडौं, २४ असार। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन्।

उनले भने, ‘म गएको त थिएँ, तर अर्कै काम परेर निस्किएँ ।’ उनले त्यो के काम हो भन्नेबारे खुलाएनन्। तर, उनका छोरा रविकिरण यादवले भने संसदमा जवाफ दिनुपर्ने भएकाले त्यसको तयारीका लागि बाहिरिएको जानकारी दिएका छन्।
सुरुमा मन्त्री यादवले आफू मन्त्रिपरिषद बैठकमा जाँदै नगएको बताएका थिए। तर, तपाईं गएर बीचमै बाहिरिनु भएको होइन र ? भन्ने प्रश्न गरेपछि मात्रै उनले आफू बैठकमा गएको तर धेरैबेर नबसेको स्वीकारेका थिए।

बैठकमा कसैसँग कुनै विवाद नभएको उनले बताए। ‘बैठक नियमित हो, हिजो छलफल नसकिएपछि आज पनि बसेको हो,’ उनले भने। भारतबाट नेपाल भित्रिने फलफूल र तरकारीको विषादी परीक्षणको विषयलाई लिएर उनको प्रधानमन्त्रीसँग दूरी बढेको थियो।