काठमाडौं, २४ असार। आज मंगलवार मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो।
आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सरकारका कामका विषयमा छलफल गर्न मन्त्रीपरिषदको बैठक भएको बताए। यो आकस्मिक नभएर हिजोकै निरन्तरता हो संयोजक अधिकारीले भने।’
यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो। सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ। मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ। बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ।
सोमबार मन्त्रिपरिषद बैठकमा छलफलका लागि रहेका एजेण्डामा छलफल बाँकी नै रहेकोले आज बिहान त्यसैको निरन्तरताका लागि बैठक बोलाइएको हो,’प्रधानमन्त्री निकट स्रोतले भन्यो, –‘यो सामान्य बैठक हो। तरंगित भइरहनु पदैन।’
सोमबार प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल बीच बालुवाटारमा छलफल हुनु, दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक बस्नु , लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नु र आज बिहानै वालुवाटारमा मन्त्रिपरिषद्को बैठक बाेलाउनुले प्रधानमन्त्रीले केही नयाँ स्टेप चाल्दै पो छन की भन्ने आशंका भने मानिसहरुका बीचमा नजन्माएको होइन।
कतै प्रधानमन्त्रीले मंगलबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी पो गर्दैछन् की भन्ने प्रश्न पनि अहिले उठिरहेको छ । तर प्रधानमन्त्री निकट स्रोतले त्यस्तो कुनै योजना नरहेको बताएको छ।
‘त्यस्तो योजना आजै (मंगलबार) का लागि छैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,‘सोमबार प्रधानमन्त्रीले राष्ट्रपतिसँग नियमित भेटघाटका लागि समय लिईसक्नु भएको थियो । मन्त्रिपरिषद बैठक चलिरहेकै बेला प्रधानमन्त्रीले लिएको समय भएपछि प्रधानमन्त्रीले बैठक भोलि बिहानै बस्यौं, अहिले म राष्ट्रपतिसँग भेट गर्न जानु छ भनेर जानुभएकोले त्यही बैठकका छलफल एजेण्डामा छलफल गर्न अहिले बिहान बैठक बोलाइएको हो।’
राष्ट्रपति कार्यलयले पनि प्रधानमन्त्रीसँगको सोमबार साँझको भेट नियमित प्रक्रिया अन्र्तगतको भेटघाट मात्र भएको प्रष्टिकरण दिएको छ। ‘बाहिर के हल्ला छ थाहा छैन, तर उहाँहरुको भेटघाट नियमित हो,’– राष्ट्रपति कार्यालय स्रोतले भन्यो।



लाेकपाटी न्यूज

