पोखरामा तुइन हट्यो, तर पुलकाे फाइल गायव

pokhara-twin
लाेकपाटी न्यूज

पोखरा महानगरपालिकाको वडा नं.–१७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन शुक्रबार हटाइएको छ।

बंगुरका दाना लगायतका सामाग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइएपछि तुइन हटाउन बिहीबार प्रशासनले निर्देशन दिएको थियो।

मंगलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गरेको तस्वीर सार्वजनिक भएसँगै यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो। नेपाल प्रहरीको टोलीले शुक्रबार तुइनमा प्रयोग हुने बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक कोमल शाहका अनुसार झिकिएको तुइन बाकस प्रहरीको नियन्त्रणमा छ। नेपाल सरकारले मुलुकबाटै तुइन विस्थापन गर्ने नीति लिएको छ।

तुइनको बाकस झिके पनि सरकारले निर्मलपोखरी र छोरेपाटन क्षेत्रमा पुल बनाउने योजनामा भने कुनै चासो देखाएको छैन। व्यक्तिगत तुइन भने पनि उक्त तुइनबाट प्रतिदिन दर्जनौं विद्यार्थी र स्थानीय आवातजावत गर्दै आएका थिए।

स्थानीयले पुल निर्माणका लागि अड्किएको फाइल यथाशिघ्र खोजी गर्न र पुलको निर्णय गर्न माग गरेका छन्। ‘तुइन त हटाइयो। तर, बिकल्प के ? पुल बनाउने जिम्मेवारी राज्यको हो, राज्य यसमा गैरजिम्मेवारी देखियो’ एक स्थानीयले भने।

उनका अनुसार सरकारी कर्मचारी र जनप्रतिनिधिले ध्यान नदिँदा पुल निर्माणको फाइल अघि बढ्न नसकेको हो। ‘वडाध्यक्ष र मेयर गम्भिर हुनुपर्छ, पुल निर्माणका लागि उहाँहरुले नै अग्रसरता देखाउनुपर्छ’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्