लिची कति बेला खाने, कति खाने ?

Lichi
लाेकपाटी न्यूज

खाली पेटमा लिची खाएका कारण भारतमा १ सय जनाभन्दा बढी बालबालिकाको मृत्यु भएको समाचार केही समयअघि सार्वजनिक भयो। लिची खाएकै कारण मृत्यु भएको यो समाचारले नेपालमा पनि मानिसको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पारेको पाइन्छ।

अहिले लिचीको सिजन हो। नेपालमा लिचीको व्यापक कारोबार भइरहेको छ। सिजमै लिची खाएर मानिसको मृत्युको खबरले उपभोक्तालाई चिन्तित बनाउनु पनि स्वभाविक नै हो। ‘द ल्यान्सेट ग्लोबल हेल्थु जर्नलमा प्रकाशित एक लेखको नतिजाले लिची र बालबालिकाको मृत्युको सम्बन्धु देखाएको थियो।

अमेरिकी र भारतीयहरु गरी ५१ जना अनुसन्धानकर्ताहरु यो प्रोजेक्टमा सम्मिलित भई अनुसन्धान गरेका थिए। सन् २०१४ मा गरिएको अनुसन्धान सन् २०१७ को अप्रिल महिनाको अंकमा प्रकाशित भएको थियो। सन् २०१९ मा आएर यसको नतिजाले विशेष चासो लिएको छ।

भारतको मुजप्फरपुर लिची खेतीको लागि प्रख्यात मानिन्छ। त्यहाँका बालबालिकामा ज्वरो आउने, रगतमा ग्लुकोजको मात्र कम हुने, र इन्सेफलोप्याथी भई मृत्यु हुने गरेकोले त्यसको कारण पत्ता लगाउन वैज्ञानिकले अनुसन्धान गरेका थिए।

लिचीमा ‘हाइपोगलाइसिन ए’ र ‘एमसिपिजी’ नामक रसायन पाइन्छ। यसले रगतमा चिनीको मात्र घटाउने काम गर्छ। लिचीको अत्यधिक उपभोग गर्ने र रातिको खाना नखाई सुत्दा रगतमा चिनीको मात्रा अत्यधिक कम भई इन्सेफलोप्याथीको लक्षण देखापरेको थियो। बिहानको ३ बजेदेखि बिहानको ८ बजे बीचमा यस्तो अवस्था बढी मात्रामा हुने गरेको देखिएको थियो।

एकदेखि पाँच वर्षमुनिका बालबालिकामा यस्तो अवस्था बढी देखिने गरेको थियो। उनीहरु अधिकांश गरिबीको रेखामुनि रहेको पाइएको थियो। यसकारण उनीहरुले यथेष्ट पौष्टिक आहार नपाएको सहजै अनुमान गर्न सकिन्छ। यसकारण उनीहरु कुपोषित थिए भन्न सकिन्छ।

लिचीमा पाउने ग्लुकोजको मात्रा घटाउने रसायनले अत्यधिक हाइपोग्लासेमिया भई बालबालिकाहरुको मृत्यु भएको अनुसन्धानले देखाएको थियो। हाइपोग्लासेमिया भएपछि ३२ प्रतिशत बालबालिकामा मृत्युको सम्भावना हुने गरेको छ।

बालबालिका जो नजिकैको सहरमा बस्छन्, उनीहरुमा यस्तो समस्या भएको भन्ने कतै उल्लेख गरेको पाइँदैन, किनकी त्यहाँ गाउँमा जस्तो कुपोषण हुने सम्भावना हुँदैन। यद्यपि यो अनुसन्धानले त्यो खालको तुलना गरेको भने थिएन। अर्थात् यसमा लिची आफैंमा कुनै समस्या वा दोष थिएन वा होइन।

नेपालमा विशेषगरी सहरमा लिची बेच्ने गरेको पाइन्छ। यहाँका बालबालिका कम्तीमा पनि भोकै बस्नुपर्ने वा कुपोषित अवस्था नभएकोले ढुक्क भएर लिची खान सकिन्छ। यदि त्यस्तो होइन भने त सहर लगायत विकशित देशहरुमा पनि यस्तै समस्याहरु देखिइराख्नुपर्ने थियो। वयस्कहरुमा भने यस्तो समस्या देखिएको छैन। जिवाणु तथा विषादीको पनि जाँच गरेकोमा त्यस्तो केही नपाएको सो लेखमा उल्लेख गरिएको छ।

त्यसैले भारतको मुजप्फरपुरको जस्तो आर्थिक तथा सामाजिक वातावारण काठमाडौँमा नभएकोले लिची खानबाट डराउनुपर्ने कुनै आधार देखिँदैन। यो अनुसन्धान लेखको नतिजाको व्याख्या अलि फरक दृष्टिकोणले गरेको पाइन्छ जुन नेपालमा पनि त्यही दृष्टिकोणले पछ्याएको छ। जसले गर्दा सर्वसाधारण लिची जस्तो पौष्टिक तत्वले भरपुर फल खानदेखि हिच्किचाएको देखिन्छ।

(डा. डा. शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्