काठमाडौं, १७ असार । चौधरी ग्रप (सिजी)ले नेपालमा फोरजी सेवा विस्तार गर्न चीनियाँ सूचना प्रविधि कम्पनी हुवावेसँग सहकार्य गर्ने भएको छ।
यसका लागि उसले हुवावेसँग १० करोड अमेरिकी डलरमा सम्झौता गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। सिजीले सुरुवातमा २५ करोड डलर खर्चेर नेपालको सूचना प्रविधि क्षेत्रमा फोरजी भित्र्याउन चाहेको गु्रपका अध्यक्ष विनोद चौधरीले बताए।
आफूले भित्र्याउन लागेको प्रविधिमा फ्रि भ्वाइस सेवा हुने तर डाटा र अनलाइन पेमेन्टमा केन्द्रीत हुने उनले प्रस्ट पारे।वाइवाइ चाउचाउबाट अन्तर्राष्ट्रिय व्यापार सुरू गरेको सिजी ग्रुपले बैंक, रिसोर्ट हुँदै अब दूरसञ्चारको क्षेत्रमा व्यवसाय विस्तार गर्न लागेको हो।फोरजी सेवा सुरू गर्न १० करोड अमेरिकी डलरको सामान हुवावेले दिने सम्झौतामा उल्लेख छ। त्यसलाई भविष्यमा फाइभजीमा पनि विस्तार गर्न सकिनेछ।
हुवावेले सामान उपलब्ध गराएपछि, टर्कीको टर्कसेलको सहायक कम्पनी लाइफसेलसँग प्रविधि र डिजाइनमा सम्झैता गर्ने चौधरीले बताएका छन्।‘हामीलाई चाइनिज कम्पनीसँग सहकार्य गर्न कुनै अफ्ठेरो छैन,’ चौधरीले रोयटर्ससँग भनेका छन्, ‘हामी त अझै सिमेन्ट उत्पादनको लागि पनि चाइनिज कम्पनीसँग सहकार्य गर्ने तयारी गरिरहेका छौं।’
हुवावेले अहिले विश्वभरि नै फाइभजी सामान निर्यात गर्दे आएको छ।
तर, पछिल्लो समय अमेरिकाले भने हुवावेको उत्पादनलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको थियो।जापानमा भएको जी २० राष्ट्रहरूको शिखर सम्मेलनमा चीनियाँ सी चिनफिङसँगको भेटपछि पत्रकार सम्मेलन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेमाथिको प्रतिबन्ध फुकुवा गरेको बताएका थिए। एजेन्सी



लाेकपाटी न्यूज

