बार्सिलोना, ७ असार । नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान सरकार संघीयता विरोधी भएको आरोप लगाएका छन्।
नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो। ३० देखि ३५ प्रतिशतसम्म मात्र बजेट दिएको छ। त्यसलै म यो सरकारलाई संघीयता विरोधी सरकार भन्न चाहन्छु।’ संघीयताको बाटो कांग्रेसले कोरेको उनको दाबी छ।
पाँच वर्षमा वर्तमान सरकारले कुनै चमत्कार गर्न नसक्ने भन्दै उनले तुरुन्तै निर्वाचन भएपनि कांग्रेस पहिलो पार्टी बन्ने ठोकुवा गरे। कांग्रेसलाई आफ्नै अन्तरघातले मात्र हराउने गरेको भन्दै उनले अब एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।जनसम्पर्क समितिको सुरुवात विशेश्वरप्रसाद कोइरालाले पहिलोपटक बम्बईमा आजभन्दा ४५ वर्ष अगाडि स्थापना गरेको महामन्त्री कोइरालाले स्मरण गरे।
जनसम्पर्क समितिको क्रियाशिलताले कांग्रेसलाई उर्जा थपेको उनले बताए।उपसभापति विमलेन्द्र निधिले विदेशमा बस्ने नेपालीको लागि भोटिङ राइट कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा कांग्रेस दृढ रहेको बताए।लोकतान्त्रिक नेपालको माध्यमबाट नेपालको विकास गर्नका लागि नेपालमा आएको परिवर्तन, शासन प्रणाली र संविधानलाई संस्थागत गर्ने चुनौती नेपालमा रहेको उनले बताए।
यो चुनौतीको सामना गर्ने सामथ्र्य कांग्रेसमा मात्र भएको उनको दाबी छ। कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेला शुक्रबारदेखि डेनमार्कको कोपनहेगनमा सुरु भएको छ।



लाेकपाटी न्यूज

