काठमाडौं, ३ असार । भारतको छत्तिसगढबाट अछाम प्रवेश गरेका तीन जना भारतीय प्रहरीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ।
तीन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक खोज्दै छत्तिसगढ प्रहरी नेपाल छिरेको हो। जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले तीन जना भारतीय प्रहरी आफूहरुको सम्पर्कमा आएको स्वीकारे । तर, उनले ती अधिकृत विना हतियार, सिभिलको रुपमा आएको दाबी गरे।
प्रहरीका अनुसार अछामका १९ वर्षीया केशव सोनीले छत्तिसगढकी १५ वर्षीया किशोरीलाई भगाएर ल्याएका थिए। भारतमा किशोरीको परिवारले जोहरी दिएपछि त्यहाँका प्रहरी अधिकृत नेपाल आएको जनाइएको छ।‘उनीहरुले किशोरीलाई लिएर जाने अडान राखेका छन्’, एक प्रहरी अधिकृतले भने, ‘हल्लाखल्ला भएपछि उनीहरूलाई नियन्त्रणमा राखिएको छ।’
कानूनतः कुनै मुलुकको सार्वभौमिकतामा खलल पुग्ने गरी विना अनुमति कुनै मुलुकले खानतलासी वा अनुसन्धान गर्न पाउँदैन। तर, स्थानीय स्तरमा प्रहरी–प्रहरीबीच समन्वयबाट अपराध नियन्त्रणमा सहकार्य हुने गरेको छ।



लाेकपाटी न्यूज

